कार्यक्रम

धमाका मच्चाउन अमेरिका

गायक प्रमोद खरेल र पशुपति शर्मा पहिलो पटक अमेरिका उडेका छन् । प्रमोद र पशुपतिझैं हास्य कलाकार जोडी सीताराम कट्टेल 'धुर्मुस' तथा कुञ्जना घिमिरे पनि पहिलो पटक अमेरिका उडेका छन् । उनीहरूलाई गायिका संगीता थापा मगरले पनि साथ दिँदै छिन् । पाँच जना कलाकारको यो समूहले अमेरिका पुगेर करिब साढे दुई महिनासम्म त्यहाँका प्रमुख सहरहरूमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउनेछ । नयाँ वर्ष २०७२ को अवसर पारेर आयोजित गरिने 'नयाँ वर्ष धमाका भाग-१' मा यी कलाकारले प्रस्तुति दिनेछन् । वल्र्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट -डब्लूबीएमसी) नेपाल तथा डब्लूबीएमसी अमेरिकाले अमेरिकाका दुई दर्जनभन्दा बढी सहरमा यो कार्यक्रम सम्पन्न गर्दैछ । आयोजक संस्थाकी सीईओ शारदा पौडेल रेग्मीले कार्यक्रमबाट उठेको रकम तल्लो तहका अनाथ आश्रममा सहयोग गर्ने बताएकी छिन् । चैत २१ गते भर्जिनियाबाट प्रारम्भ हुने यो कार्यक्रम असारको पहिलो साता टुंगिनेछ ।
प्रकाशित: चैत्र २१, २०७१