यौन मनोविज्ञान

अहिले पनि उक्त घटना सम्झेर ग्लानी हुन्छ ।

- करूणा कुँवर मनोविद्
१९ वर्षकी हुँदा म एउटा युवकलाई प्रेम गर्थें । एक वर्षको अन्तरालमा मेरो उक्त युवकसँग ५-६ पल्ट राजीखुसीमा यौनसम्पर्क भयो । दोस्रो वर्ष ऊ मेरो घरको छेउमा डेरा सर्‍यो । नजिक भएका कारण जुन बेला फुर्सद हुन्थ्यो, हामी सम्पर्क गर्थ्यौं । सचेत हुँदाहुँदै पनि कुन बेला गर्भ बस्यो, थाहा भएन । मैले गर्भपतन गराएँ । गर्भपतन गराएपछि मात्र मैले कति गलत काम गरिरहेकी रहेछु भन्ने थाहा भयो । तीन-चार महिनापछि म पूर्ण स्वस्थ भएपछि विवाहअघि यौनसम्पर्क राख्दिनँ भनेर कसम खाएँ । मेरो प्रेमीले त्यसलाई सामान्य रूपमा लियो र यौनसम्पर्कका लागि प्रयास गरिरह्यो, तर पछि उसको मसँग विवाह गर्ने कुनै योजना छैन भन्ने थाहा भयो, मैले नै ब्रेकअप गरें र आइन्दा विवाहको कुरा लिएर आउँछौं भने आऊ, होइन भने अब सधैंका लागि हामी छुट्टयिौं भनेर अड्डी लिएँ । अहिले मेरो विवाह अन्यत्र नै भैसकेको छ । सानो सुखी परिवार छ । तैपनि मनमा सन्तोष छैन, किनभने मैले उसले बलात्कार गर्दा पनि सहेर बसें । यस्तो अवस्थामा म पश्चातापबाहेक केही गर्न सक्दिनँ । अहिले पनि उक्त घटना सम्झेर ग्लानी हुन्छ । म के गरौं ?
ती.

१९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगप्रति आकषिर्त हुनु स्वभाविक हो । यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन । कसैप्रतिको आकर्षण र वास्तविक प्रेमसम्वन्ध फरक कुरा हुन् । यो उमेरमा तपाईंसँग घटेको घटना अस्वभाविक होइन, तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ । प्रेम र यौनका सम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर चिन्तन गरे अगाडि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्छ ।
जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं एक्लो हुनुहुन्न । त्यो उमेरमा आफूले गरेको गल्तीेमा धेरैलाई पश्चाताप हुन्छ नै । त्यसमाथि पनि गलत मान्छेसँग त्यस्तो सम्बन्ध भएको घटनाप्रति पश्चाताप मान्नेहरूकोसूची लामै छ । उक्त घटनाले तपाईंलाई पटक-पटक घचघच्याइरहन्छ । यो पनि स्वभाविक हो, तर तपाईंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्त्वपूर्ण हो । मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अगाडि बढ्नु हो । त्यसबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता घटना रोक्नुभयो भने त्यसलाई शिक्षाकै रूपमा लिनुपर्ने हुन्छ । घटना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ ।
किशोरावस्थालाई पश्चातापको भुमरीमा धकेल्नबाट जोगाउनेहरूले नै पछि आफ्नो जीवनलाई सुखमय बनाउन सक्छन् । पुरुषले कुनै बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेम प्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन् । उनीहरूले त्यसरी मौका पाएका युवतीसँग यौनसम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ, तर धेरैजसो युवतीले भने छिट्टै कसैप्रति विश्वास गरेर यौनसम्पर्क गरेकोमा दु:ख प्रकट गर्ने गरेका छन् ।
त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो कौमार्य गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ । युवकहरू अनौपचारिक यौनसम्पर्क मन पराउँछन्, अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर महिलाहरू जीवन बिताउन पुरुषसँग दीर्घकालीन प्रतिबद्धता चाहन्छन् । पुरुष यौनसम्पर्कपछि प्रेम गर्ने खालका हुन्छन् भने महिलाहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन् । महिलाहरू यौनसम्पर्कमा छनौटपूर्ण हुन्छन् । किनभने शिशु जन्माउनु, हुर्काउनु र उनीहरूसँग समय बिताउनु महिलाका लागि जैविक, भावनात्मक एवं प्रजननजन्य कुरा हुन् । सिद्धान्तत: पुरुषले चाहे एकै दिनमा धेरैलाई गर्भवती बनाउन सक्छन्, अर्थात् महिलाको यो धर्तीमा भूमिका नै बेग्लै छ । तैपनि कहिलेकाहीं महिलाहरू कुनै पुरुषसँग अन्जानमा र प्रेम भएको भ्रममा फस्छन् र कौमार्य गुमाउँछन् । कौमार्य र प्रजनन महिलाका लागि जीवनका दुई महत्त्वपूर्ण सम्पत्ति हुन । यी दुई चीज गुमाउँदा महिलालाई सबैभन्दा ठूलो निराशा हुन्छ । कौमार्य गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन क्षमता गुमाउँदा ठूलो निराशा । यो स्वाभाविक हो । समयक्रमसँगै सकिने प्रजनन क्षमता र कौमार्य टार्न सकिँदैन, तर गलत मान्छेबाट कौमार्य तोड्ने काम रोक्न सकिन्छ । अब तपाईंसँग गुमाउने कुरा बाँकी छैन । विगतका घटनाप्रति पश्चाताप गरिरहनेभन्दा पनि उक्त घटनाबाट पाठ सिकेर श्रीमान्सँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ ध्यान केन्दि्रत गर्नुहोस् । ग्लानिमा जीवन बिताउनु भनेको विगतको घटनालाई हालको जीवनमा महत्त्वपूर्ण स्थान दिनु हो र अहिलेको जीवनलाई गुणस्तरीय समय नदिनु हो । यदि निरन्तर पश्चाताप भैरहेको छ भने मनोविज्ञहरूसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ ।
प्रकाशित: फाल्गुन २९, २०७१