बलिउड

मलेसियामा श्रद्धा

आगामी महिना अर्थात् अप्रिलमा व्यस्त सेड्युअलबाट फुर्सद मिलाउँदै नायिका श्रद्धा कपुर छुट्टी मनाउन मलेसिया पुग्ने भएकी छिन् । हाल वरुण धवनका साथ चलचित्र एबीसीडीको सिक्वेलमा व्यस्त श्रद्धा सुटिङ पूरा भएलगत्तै लामो भ्याकेसनमा जानेछिन् । श्रद्धालाई स्कुबा डाइभिङ अत्यधिक मन पर्छ । उनी मलेसिया पुगेर द्वितीय विश्वयुद्धका क्रममा समुद्रमा टुटेका जहाजमा सयर गर्दै मस्ती मार्ने मुडमा छिन् । श्रद्धा गोताखोरकी पनि सौखिन हुन् । स्कुबा डाइभिङका क्रममा आफ्नो प्यासन पूरा गर्ने तथा इतिहासका विविध पक्षको जानकारी लिने सोच उनको छ । श्रद्धा मलेसिया भ्रमणपश्चात् रक अन-२ को सुटिङमा व्यस्त हुनेछिन् ।

नवाजुद्धिनको तर्क
बलिउड 'अफ-ट्रयाक' अभिनेताका रूपमा नवाजुद्धिन सिद्धिकी लोकप्रिय हुँदै गएका छन् । हालै प्रदर्शन भएको सफल चलचित्र 'बदलापुर' का लागि मुख्य नायक वरुण धवन भन्दा नवाजुद्धिनले बढी जस पाए । उनको भूमिकालाई विश्लेषकहरूले सशक्त मानिदिए । यसले स्वंय नवाजुद्धिनलाई पनि दंग पारेको छ । उनले एक अन्तर्वार्ताका क्रममा भने- 'वल्र्डकपका बाबजुद पनि मेरो चलचित्रलाई दर्शकले जुन माया दिनुभयो, विश्लेषकहरूले मेरो कामलाई जसरी सराहना गरिदिनुभयो, यसले मलाई थप उत्साहित बनाएको छ ।' यद्यपि उनलाई एउटा कुरा भने चित्त बुझेको रहेनछ । अफट्रयाकका अर्का सफल अभिनेता इरफान खानसँग आफ्नो तुलना गर्ने मिडियाको ट्रेन्डप्रति दु:खी भएको उनले बताए । नवाजुद्धिन भन्छन्- 'हामी दुई अलग-अलग अभिनेता हौं, तर पनि थाहा छैन, किन हाम्रो तुलना गरिन्छ । इरफान मभन्दा धेरै वरिष्ठ अभिनेता हुन्, म सधैं उनको इज्जत गर्छु । हामी दुईलाई तुलना गरेर हाम्रो प्रतिभाको अपमान गरिएको छ ।'
प्रकाशित: फाल्गुन २९, २०७१