कार्यक्रम

मलेसियामा खुमन र जम्बो टिम

नेपालको एनसेल र मलेसियाको डिजी मोबाइलले संयुक्त रूपमा आयोजना गरेको सांस्कृतिक टुरमा नेपाली कलाकारहरूको जम्बो टोली सहभागी भयो । निर्माणाधीन चलचित्र वडा नम्बर-६ को टिममा रहेका लोकप्रिय कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला र नायिका प्रियंका कार्की टुरमा सहभागी थिए । दीपकराज र दीपाश्रीले दर्शकलाई हँसाए भने प्रियंकाले नृत्यमार्फत मनोरञ्जन प्रदान गरिन् । यस्तै लोकदोहोरी गायनमा प्रभुत्व जमाएका खुमन अधिकारी टुरका अर्का आकर्षण थिए । खुमनले आफ्ना चर्चित लोकदोहोरीहरू सुनाएका थिए । पेनाङ, जोहरबारु र क्वालालाम्पुरमा गरी तीन स्थानमा उक्त कार्यक्रम प्रस्तुत भयो । गायक अधिकारीका अनुसार दर्शकको उल्लेख्य उपस्थिति रहेका ती कार्यक्रममा कलाकारहरूको प्रस्तुतिले दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेको थियो । सांस्कृतिक कार्यक्रममा गायक शिव परियार तथा गायिका सुनिता दुलालले पनि प्रस्तुति दिएका थिए ।
प्रकाशित: फाल्गुन १५, २०७१