टाटुमा कामुकता

- शिव शर्मा, पोखरा
टाटु कला नयाँ होइन, तर पोखरामा अत्यन्त संवेदनशील अंगहरूमा टाटु खोपाउनेहरू बढिरहेका छन् । युवाको तुलनामा युवतीहरू यो ममिलामा अगाडि देखिन्छन् । युवायुवतीहरूमा हातपाखुरामा मात्र होइन, शरीरका संवेदनशील अंगमा समेत टाटु खोपाउन पछि पर्दैनन् । कुनै समय सामान्य टाटु खोपाउन लजाउनेहरू अहिले शरीरको जुनसुकै अंगमा पनि टाटु हान्न हिचकिचाउँदैनन् । अहिले आफ्नो लुक्सलाई कामुक देखाउन शरीरका संवेदनशील अंगमा टाटु खोपाउनेहरू बढेका छन् । विदेशी युवतीहरू बिनाहिचकिचाहट आफ्ना गुप्त अंगदेखि नितम्बमा टाटु खोपाउँछन् । सुरु-सुरुमा त टाटुकार अर्जुन थापालाई संवेदनशील भागमा टाटु खोप्दा निकै सकस लाग्थ्यो । 'विदेशीहरू प्राय: यस्तै अंगमा टाटु खोपाउन आउँछन्,' शरीरका विभिन्न अंगमा टाटु खोपिसकेका यी तन्नेरी टाटुकारले भने, 'निर्धक्कसँग खोप्दा केही गार्‍हो हुँदैन ।' नेपाली युवायुवतीले खोपाउने टाटुभन्दा विदेशीले खोपाउने टाटु बढी कामुक हुन्छ । त्यसैले टाटु सपहरूमा कामुक टाटुको माग बढ्दो छ । विदेशीहरूले नितम्ब, छाती, पिठ्यु, तीघ्रा आदि शरीरका भित्री अंगहरूमा टाटु खोपाएको पाइन्छ ।
 विशेषत: चिनियाँ, अस्टे्रलियायी, कोरियायी, बेलायती, अमेरिकी आदि युवतीले शरीरका अति संवेदनशील भागमा टाटु खोपाउँछन् । पछिल्लो क्रममा टाटुको टे्रन्ड नै बदलिएको छ,' गगन टाटु हाउसका सञ्चालक तथा टाटुकार गगन थापामगर भन्छन्- 'टाटुमा अहिले कामुक शैली भित्रिएको छ ।' थापामगरका अनुसार उनीहरूले शरीरका जुनसुकै भागमा पनि खुल्लमखुला टाटु खोपिदिन अनुरोध गर्ने गरेका छन् । केहीले यसलाई हदभन्दा बढी कामुकताको संज्ञा दिए पनि विदेशीहरूले भने यसलाई सामान्य मान्ने थापामगरले बताए ।
टाटुप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएपछि लेकसाइड क्षेत्रमा मात्र एक दर्जनजति टाटु हाउस सञ्चालित छन् । यहाँ टाटु खोपाउँदा कयौं गुणा सस्तो पर्ने भएकाले धेरै पर्यटक लोभिएका हुन् । उनीहरूमध्ये अधिकांश नेपाली चिनारी झल्कने टाटु नै आफ्नो शरीरमा खोपाउन चाहन्छन् । अहिले सामान्यभन्दा गम्भीर प्रकृतिका टाटु खोपिन थालिएको छ,' टाटुकार सञ्जीव गुरुङले भने । आकार र प्रकृति हेरेर एउटा टाटुका लागि सामान्यत: १ हजार ५ सयदेखि ४० हजार रुपैयाँसम्म खर्च लाग्छ ।
 
प्रकाशित: माघ ९, २०७१