पानी जरामा कि पातमा ?

चिनियाँ सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङकी आमा माओ जन्मिएपछि श्रीमान्बाट छुट्टएिर बस्न थालेकी थिइन् । माओकी आमाले घरमा निकै सुन्दर बगैंचा बनाएकी थिइन् । बगैंचामा थरीथरी फूल थिए ।  मगमग बास्ना र आँखा तिर्मिराउने सौन्दर्यका कारण उक्त बगैंचाको चर्चा हुन्थ्यो । धेरै पछि जब माओले सांस्कृतिक क्रान्ति सुरु गरे, त्यति बेला भूमगत हुँदा लुक्ने घरमा पनि उनी उक्त बगैंचाको  हवाला दिँदै आफ्नो परिचय दिन्थे । यति लोकप्रिय थियो, उनको फूलबारी ।
सानैछँदा एकपटक माओकी आमा बिरामी भइन् । फूलको हेरचाह गर्न असमर्थ भइन् । त्यतिबेला उनले माओलाई फूलबारी जिम्मा दिँदै भनिन्, 'म दुई-चार दिन माइती गएर आराम गर्छु, यो फूलबारीको हेरचाह राम्राेसँग गर्नु । बेलामा पानी हाल्नु, सफा सुग्घर राख्नु ।'
माओ आज्ञापालक छोरा थिए । उनी बिहानदेखि बेलुकासम्म फूलबारीमै बस्न थाले । माआ फूलका पातहरू पुछेर बस्थे । अनावश्यक झार उखेलिरहन्थे । थोत्रा कपडामा पानी भिजाएर बोटका डाँठ सफा गर्थे ।
१५ दिनपछि आमा स्वस्थ भएर घर फर्किइन् । उनी फूलबारीको अवस्था देखेर छक्क परिन् । किनभने बोटबिरुवा सुकेका थिए । आफ्नो फूलबारीको त्यस्तो अवस्था देखेर आमा रुन थालिन् । भनिन्, 'छोरा मैले फूलबारीको राम्रो हेरचाह गर भनेर गएकी थिएँ, यो तैंले के गरिस् ? फूलबारी कसरी यस्तो भयो ?' माओ पनि रुन थाले । 'म दिनभरि नै यहीँ बस्थें । एक-एक बोट, पात सबै सफा राख्थें । झार उखेल्थें । विश्वास गर्नुहोस् आमा, मेरो मेहनतमा कुनै कमी थिएन ।'
धेरै पछि माओले आफ्नो आत्मकथामा लेखेका छन्, 'मैले मेहनत त धेरै गरें तर फूलको बोटमा होइन, जरामा पानी हाल्नुपर्छ भन्ने थाहा थिएन । त्यो बेलाको मेरो सारा मेहनत निष्फल मात्र गएन, फूलबारी पनि मुर्झायो । मेरो १५ दिनको मुर्खताका कारण आमालाई त्यो फूलबारी पहिलेको अवस्थामा ल्याउन एक वर्ष लाग्यो ।'
०००
माओले सानो छँदा फूलबारीमा जुन मुर्खता गरेका थिए, त्यो हामी सबैले गर्दै आएका छौं । कुनै मुर्खता ढिलो महसुस हुन्छ, कुनै छिटो । मैले कक्षा १० सम्म अंग्रेजी भाषालाई यति अपहेलना गरें, जसको दण्ड अहिले भोग्नुपरिरहेको छ । जब-जब कुनै विश्वस्तरका अंग्रेजी पुस्तकको चर्चा सुन्छु, आँखा र मनले उक्त पुस्तकको खोजी गर्छ । पुस्तक किनेर ल्यायो तर धेरै शब्द बुझ्न डिक्सनेरी पल्टाउनुपर्छ । त्यतिबेला मेरो बाल्यकालको साथी कृष्णेलाई गाली गर्न थाल्छु । यो भन्दा अर्को उपाय पनि छैन ।
'अंग्रेजी जस्तो विदेशी भाषा हामी नेपालीले किन पढ्नुपरेको ? यस्तो भाषा बहिष्कार गर्नुपर्छ ।' हाम्रो समूहका चार जनामध्येको एक कृष्ण पोखरेलले एक दिन प्रस्ताव राख्यो । हामी सबै अंग्रेजीमा लद्दु थियौं । उसको प्रस्ताव हामीलाई मन नपर्ने प्रश्नै थिएन । त्यस दिन यता हामी कक्षा ८ को दोस्रो घन्टीलाई बङ्क हान्न थाल्यौं । पानी खाने निहुँले, ट्वाइलेट जाने निहुँले वा खेल सामग्री मिलाउन जाने निहुँले हामीले लामो समय अंग्रेजीको कक्षा नै लिएनौं । त्यसबापत हामीले धेरै कुटाइ खानुपर्‍यो । तैपनि हाम्रो कमजोरीलाई हामीले सिद्धान्तको लेप लगाइरह्यौं र अंग्रेजी भाषा कमजोर बनाइरह्यौं, जसको नेतृत्वमा हामीले अंग्रेजी भाषा बहिष्कारको योजना बुनेका थियौं, उसले पछि प्रहरी जवानको जागिर खायो । त्यसपछि ऊ भन्दै थियो, 'हामीले गलत काम गरेका थियौं । अब मेरो छोरोलाई अंग्रेजी विद्यालय पढाउँछु ।'
००००
धेरै मानिसलाई चित्रकला मन पर्छ तर यो करियर हुन सक्छ भन्ने थाहा हुँदैन । कोही राम्राे गीत गाउँछन्, कोही राम्रो भाषण गर्न सक्छन् । हरेक व्यक्तिलाई ईश्वरले केही न केही क्षमता दिएर पठाएका हुन्छन्, तर त्यो बाटो हिँड्न नजान्दा ती सबै प्रतिभा माओको फूलबारीजस्तै हुँदो रहेछ । माओकी आमालाई माओले बिगारेको बगैंचा पहिलेको अवस्थामा ल्याउन एक वर्ष लागेको थियो, हामीले सानैदेखि बहिष्कार गरेको अंगे्रजी बनाउन अझै कति वर्ष लाग्छ भन्न सकिने अवस्था छैन ।
प्रकाशित: पुस ५, २०७१