हलिउड

एन्जेलिनाका नयाँ असिस्टेन्ट

चलचित्र 'बाय सी' का लागि हलिउड अभिनेत्री एन्जेलिना जोलीले छोरा मेडोक्सलाई आफ्नो प्रोडक्सन असिस्टेन्ट बनाएकी छिन् । हाल एन्जेलिना यो चलचित्रको सुटिङ माल्टामा श्रीमान् ब्राड पिटका साथमा गरिरहेकी छिन् । आफ्नै ब्यानरमा निर्मित यो चलचित्रका लागि एन्जेलिनाले मेडोक्सलाई काम गराएकी हुन् । हुन त मेडोक्सले यसभन्दा अघि पनि एन्जेलिनाको निर्देशनमा बनेको चलचित्र 'अनब्रोकन' मा काम गरेका थिए । यसबीच एन्जेलिनाले एउटा प्रश्नको सामना पनि गर्नुपर्ने भएको छ । सोसल एक्टिभिस्टका रूपमा परिचय बनाएकी एन्जेलिनाले नाबालिग छोरालाई किन असिस्टेन्टका रूपमा चलचित्रमा काम गराइन् भन्ने । मेडोक्स हाल १२ वर्षका मात्र छन् । एन्जेलिनाले मेडोक्सलाई सात महिनाको हुँदा कम्बोडियाको एक अनाथालयबाट ग्रहण गरेकी थिइन् ।

इबोला पीडितका लागि नाओमी

हट एन्ड बोल्ड सुपरमोडल नाओमी क्याम्पबेलले इबोला पीडितहरूको सहयोगका लागि 'रिलिफ पपअप स्टोर' सञ्चालनमा ल्याएकी छिन् । यसको माध्यमबाट उनी सेलिब्रेटिजका विशेष पहिरन तथा फेसन आइटमहरू बिक्री गर्दैछिन् । केट मस, स्टेला मार्ककार्टिनी जस्ता सेलिब्रेटिज नाओमीको इबोला पीडित अभियानमा सरिक भैसकेका छन् । नाओमीका अनुसार उनले अन्य फेसन ब्रान्ड र सेलिब्रेटिजलाई पनि यसमा सहभागिता जनाउन अपिल गरिसकेकी छिन् । 'इबोला संसारका निम्ति खतरनाक समस्या भैसकेको छ' नाओमीले भनेकि छिन्- 'त्यसैले यसका पीडितहरूको सहयोगका निम्ति म यो पपअप स्टोरको सम्पूर्ण  आम्दानी डिइसी इबोला क्राइसिस अपिलमा दान गर्नेछु ।'

भिक्टोरियालाई एवार्ड
लोकप्रिय फुटबलर डेभिड बेकह्यामकि अर्धाङ्िगनी एवं चर्चित फेसन डिजाइनर भिक्टोरिया बेकह्यामलाई बि्रटिस फिल्म अवार्डसमा बेस्ट ब्रान्ड अवार्डद्वारा सम्मानित गरिएको छ । भिक्टोरियाको फेसन ब्रान्ड 'बीबी' लाई अत्यधिक रुचाइएको भन्दै अवार्ड प्रदान गरिएको हो । भिक्टोरियाले पनि आफ्नो यो सफलताको श्रेय स्पोर्टसम्यान श्रीमान् डेभिड बेकह्यामलाई दिइन् । 'मैले पाएको यो उपाधि डेभिडको प्रेम र समर्पणको प्रतीक हो' भिक्टोरियाले भनिन्-'जबकी दुर्घटनामा परेको दुई दिनपछि नै  यो ब्रान्डलाई उत्कृष्ट बनाउन डेभिड सहयोगमा जुटेका थिए ।' आफ्नो हरेक कदममा डेभिडको साथ र प्रोत्साहन रहेको उनले बताइन् । भिक्टोरियाले आफ्नो सम्पूर्ण टिमलाई बधाई पनि दिइन् । राम्रो टिम बिना यस्तो सफलता हासिल नहुने उनको तर्क थियो । ब्लाक एन्ड व्हाइट मेक्सी स्कर्टमा देखिएकी भिक्टोरियाको उक्त पहिरनको मूल्य १ हजार ५ सय पाउन्ड बताइएको छ ।
प्रकाशित: मंसिर २६, २०७१