गसिप

हाउ फन्नी

गत भदौको कुरा हो, पोखरामा नायिकाद्वय केकी अधिकारी र प्रियंका कार्की चलचित्र 'फन्को'को छायांकनमा व्यस्त थिए । त्यही बेला पूर्व मिसनेपाल माल्भिका सुब्बा तथा निर्देशक निलु डोमा शेर्पा पोखरा पुगे । उनीहरूले फुर्सदको जमघटमा कान्तिपुर टेलिभिजनका कलाकार सन्दीप क्षेत्रीको एउटा अति रुचाइएको हास्यप्रस्तुति 'युट्युब'मा हेरे । भिडियो हेरेर रमाउँदा-रमाउँदै निर्देशक शेर्पालाई उक्त प्रस्तुतिको शीर्षक 'हाउ फन्नी' नाममै चलचित्र बनाउँदा कस्तो होला ? भन्ने जिज्ञासा उठ्यो । एउटा रमाइलो कथा पनि उनको मस्तिष्कमा फुरेछ । सबैका सामु उक्त कुरा राखेपछि चलचित्रको निर्माण माल्भिकाले गर्ने र दुई मुख्य कलाकारमा प्रियंका र केकी रहने पक्का भयो । केही समयअघि रमाइलो ढंगबाट मुहूर्त गरिएको यो चलचित्रको छायांकन पनि प्रारम्भ भैसकेको छ । निर्माण अगावै चर्चामा रहेको यो चलचित्रमा केकी र प्रिंयाकाका अतिरिक्त दयाहाङ राई, निशा अधिकारी, अनुपविक्रम शाहीले पनि अभिनय गर्ने छन् ।

हँसिला र जोसिला अमिर
चलचित्रबाट भन्दा मोडलिङबाट बढी चर्चा कमाउन सफल अमिर गौतमले आफ्नो करियर मोडलिङबाट सुरु गरेका हुन् । चलचित्रको कथा राम्रोसँग बुझेर मात्र हात हाल्ने अमिरले २०६२ सालदेखि आफ्नो मोडलिङ करियर प्रारम्भ गरेका हुन् । हालसम्म २ वटामात्र चलचित्रमा अभिनय गरेका नायक अमिरले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् ।
अमिर हाल फुर्सदमा देखिन्छन् । मिसन पैसाबाट आफ्नो मिसन सफल नभएपछि चपली हाइटबाट केही चर्चा बटुल्न सफल भए अमिर । आफ्नो मिसन नै पूरा नभएर होला, अमिरले पुन: मिसन पैसा रिलोडेडमा नायकको भूमिका निर्वाह गरेका छन् । नेपाली चलचित्रको केही ज्ञान हासिल गरिसकेका अमिरले मागभन्दा उत्पादन बढी भएकाले नेपाली चलचित्र फस्टाउन नसकेको बताए ।

कामुक देखिन मन पराउँछु
लोकगायिका ज्योति मगर बिन्दास छिन् । उनको यो बिन्दास स्वभाव कहिलेकाहीँ विवाद र टीका-टिप्पणीको विषय पनि बन्ने गरेको छ । सोसल मिडियामा उनको पहिरनका बारेमा टीका-टिप्पणी गर्नेहरू निकै देखिन्छन् । यता ज्योतिले हालै एक अनलाइन साइटलाई दिइएको एक अन्तवार्तामा आफूलाई ग्ल्यामरको पक्षमा उभ्याउँदै आफ्नो बचाउ गरेकी छिन् । ज्योतिले भनेकी छिन्- जसरी तरकारीमा नुनको आवश्यकता हुन्छ त्यसरी नै संगीतलाई पनि ग्ल्यामर चाहिन्छ, ग्ल्यामर गीतमा मात्र होइन त्यसको शब्द, भाव र संगीतमा पनि हुनुपर्छ अनि त्यही ग्ल्यामर गीतको म्युजिक भिडियोमा पनि हुनुपर्छ । यति त ठीक छ तर ज्योतिले त्यसमाथि थपेकी छिन्- मेरा तस्बिरहरू अलि कामुक नै हुन्छन् । म कामुक नै देखिन मन पराउँछु । म अलि बच्चाबच्ची स्वभावकी छु । त्यही भएर पनि छोटा पहिरन तथा स्कर्ट आदि लगाउन मन पराउँछु । ज्योति आफूले लगाउने पहिरनका सम्बन्धमा भन्छिन्- 'भगवान्ले मेरो शरीरको संरचना गर्दा नै अलि सेक्सी टाइपको गर्नुभएछ क्यारे । खासगरी मेरो ब्रेस्ट एट्रयाक्टिभ भएर होला, हरेक पहिरनमा क्लिभेजचाहिँ सेक्सी देखिन्छ ।

चल्यो बुटिक
चलचित्र कर्ममा लागेर जीवन गुजारा गर्न गाह्रो छ भन्ने यो कर्ममा लागेका सबैले राम्रोसँग बुझेका छन् भने नायिका क्षितिजा शाक्यले नबुझ्ने त कुरै भएन । डेढ दशकअघि टेलिश्रृंखला हुँदै चलचित्र नायिका भएकी क्षितिजाले र्‍याम्पदेखि म्युजिक भिडियोसम्म मोडलिङलाई पनि पेसा बनाउन खोजिन् । कामअनुरूप चर्चा पनि निकै पाइन् । 'सफल भएर पनि आर्थिक रूपमा कमजोर हुँदा निराशा हात लाग्दो रहेछ ।' गत साता न्युरोडस्थित आफ्नै बुटिकमा भेटिएकी क्षितिजाले भनिन् । केही वर्षयता फेसन डिजाइनरका रूपमा काम गरिरहेकी क्षितिजा आफ्नै नामको बुटिक व्यवसायबाट भने सन्तुष्ट छिन् । 'खाना खाने फुर्सद पनि हुँदैन ।' कामका बीचमा उनले भनिन् । अहिले यो पेसा आफूलाई फापेको बताउँदै नायिका शाक्यले भनिन्- 'यो काममा पुसलाई अफ सिजन भनिन्छ, तर पुस मात्र होइन, आगामी वैशाखसम्म मैले दर्जनांै डिजाइन पूरा गर्नु छ ।'

सपनामा पनि फूल
कलाकार तथा निर्देशक दिनेश डिसी अचेल राम्रोसँग निदाउन सक्दैनन् । फेसबुकको स्ट्याटसमै निदाउन गाह्राे परिरहेको बताइसकेका डिसी सपनामा पनि फूलैफूल देख्न थालेका छन् । विगतका केही महिनादेखि फेसबुकमा आकर्षक फूलका तस्बिर मात्र अपलोड गरिरहेका डिसीले सपनामा पनि फूल देख्ने कारण भने उनको आफ्नै लगानी तथा निर्देशनको चलचित्र 'फूलैफूलकौ मौसम तिमीलाई' हो । भर्खरै छायांकन सम्पन्न भएको यो चलचित्रको पोस्ट प्रोडक्सनमा व्यस्त डिसी चलचित्रको प्रदर्शन कहिले र कसरी गर्ने भन्ने दोधारमा छन् । डिसी राम्रोसँग निदाउन नसक्ने कारण पनि यही हो । नीता ढुंगाना तथा आमेश भण्डारीको अनस्क्रिन रोमान्स हेर्न पाइने 'फूलैफूलको मौसम तिमीलाई' का लागि उपयुक्त मिति तय भएपछि मात्र डिसीलाई राम्रोसँग निद्रा लाग्न सक्ला ।
प्रकाशित: मंसिर २६, २०७१