तीन प्रश्न

दिक्पाल कार्की, नायक

- राजेन्द्र कार्की
दिक्पाल कार्की वरिष्ठ कलाकर्मी शम्भु प्रधानद्वारा निर्देशित चलचित्र रंगबैजनीका नायक हुन् । यही चलचित्रमार्फत नेपाली चलचित्रमा नवनायकका रूपमा प्रस्तुत भएका कार्की मिस्टर काठमाडौं-२००९ का विजेता पनि हुन् । ३ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका दिक्पालले सिजी टिभी, क्लोज-अप टुथपेस्ट, महेन्द्रा स्कुटी आदिका विज्ञापनमा मोडलिङ गरिसकेका छन् । उनले स्टेज नाटकहरूको प्रस्तुतिसँगै मोडलिङ पेसामा ५ वर्ष बिताइसकेका छन् । एचआईसीएएसटी भक्तपुर कलेजबाट भेटरीनरी साइन्समा बीएससी गरेका कार्की पेसाले पशु चिकित्सक हुन् । दक्पाल कार्कीसँग साप्ताहिकको तीन प्रश्न :
शम्भु प्रधानजस्ता अनुभवी निर्देशकसँग काम गर्ने अवसर कसरी जुर्‍यो ?
यो मेरा लागि सौभाग्य नै हो । यो सौभाग्य प्राप्त गर्न सक्नुमा मेरो मोडलिङ क्षेत्रको पाँचवर्षे सफल यात्रा, मिस्टर काठमाडौं-२००९ को उपाधि आदि पृष्ठभूमि नै मुख्य कारण हो । मोडलिङ एजेन्सीमार्फत उहाँले मेरो तस्बिर कतै देख्नुभएछ । त्यसपछि हाम्रो भेटघाटका साथै कुराकानी भयो । अडिसन पनि दिए । सबै कुरामा सफल भएपछि म चलचित्र रंगवैजनीमा छनौट हुन सकेको हुँ ।
कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ ?
यो चलचित्रमा म एउटा सम्पन्न र अनुशासित परिवारको सुशील एवं पारिवारिक उत्तरदायित्व बोध भएको सन्ततिको भूमिकामा देखा पर्दैछु । चलचित्रमा म आधुनिक र जिम्मेवार किशोर छोरा हुँदाहुँदै पनि कसैको प्रेम प्रतिको आशक्तिका कारण नराम्रोसँग समस्यामा फसेको हुन्छु । यो चलचित्रमा दर्शकहरूले प्रेम-प्रसंगबाहेक बिलकुलै भिन्न, अत्यन्त मीठो र नवीनतम स्वाद पाउनुहुनेछ । त्रिकोणात्मक प्रेमकथा भैकन पनि दर्शकहरूको मनमा अनेकन शंका-उपशंका एवं कौतूहलले गर्दा चलचित्रबाट पर्याप्त मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।
यो क्षेत्रमा स्थापित हुन सक्छु भन्ने के-कस्तो आधार देख्नुभएको छ ?
नेपाली चलचित्र क्षेत्रमा पहिले पनि चकलेटी नायकको वर्चस्व थियो । अहिले पनि चकलेटी नायकप्रतिको  आकर्षणमा कुनै कमी आएको छैन । मैले पनि चलचित्रमा तनमनले मेहनत गरेको छु । चलचित्र युनिटले नै मेरो कामको प्रशंसा गरेको छ ।
प्रकाशित: मंसिर १९, २०७१