सानो पर्दा

दीपाश्रीको मन

अभिनेत्री दीपाश्री निरौलाले आफ्नी आमाको २४ औं पुण्यतिथिको अवसर पारेर तीनकुनेस्थित नि:सहाय वृद्धाश्रममा रहेका ४२ जना वृद्धवृद्धालाई खाना ख्वाएकी छिन् । 'आमाको पुण्यतिथिका अवसरमा म प्राय: यहाँ आइरहन्छु,' दीपाश्री भन्छिन्— 'यसले मलाई आत्मसन्तुष्टि मिल्छ । एकछिन भए पनि अ:सहाय आमा-बुवाहरूको उज्यालो अनुहार हेर्न पाउँदा आनन्द महसुस गर्छु ।' दीपाकी आमा गीतादेवीको ४२ वर्षको उमेरमा निधन भएको थियो । काठमाडौंमा आमाको निधन हुँदा दीपा विराटनगरमै टेष्ट परीक्षा दिइरहेकी थिईन्, जसकारण उनले अन्तिम अवस्थामा आमासँग भेट्न पाइनन् । आमा जिउँदो रहँदा आफ्नो सफलता देखाउने उनको चाहना पूरा नभए पनि आफूलाई आमाको आशीर्वाद लागिरहने दीपाको बुझाइ छ ।
नयाँ चरणमा नेपाली तारा
गायनमा आधारित रियालिटी शो 'नेपाली तारा' पियानो राउन्डमा पुगेको छ । दोस्रो चरणमा २ सय ३४ प्रतियोगीबीच भएको प्रतिस्पर्धापछि अघिल्लो चरणमा ४० जना प्रतियोगीले मात्र प्रवेश पाएका छन् । संगीतकारद्वय प्रकाश गुरुङ र सुरेश अधिकारी तथा गायक रामकृष्ण ढकाल निणर्ायक रहेको यो प्रतियोगिताको तेस्रो चरणमा प्रतिस्पर्धीहरूले पियानोमा आधारित संगीतमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । 'अडिसन राउन्डदेखि अहिलेसम्म हामीलाई प्रतियोगी छनौट गर्न धेरै नै गाह्रो भएको छ, निणर्ायक रामकृष्ण ढकालका अनुसार प्रतियोगीहरू उत्कृष्ट भएकाले निणर्ायकलाई गाह्रो परेको हो । 'हामी प्रतियोगीहरूबाट अझ बढी आशावादी छौं,' ढकाल भन्छन्— 'पियानो राउन्ड प्रतियोगीहरूका लागि निकै कठिन थियो तर उनीहरू हाम्रो भरोसा जित्न सफल भए ।'
प्रकाशित: कार्तिक २१, २०७१