गसिप

सिंगल सञ्जना

गायिका सञ्जना श्रेष्ठ आफूलाई स्टारडमले भरिएकी आर्टिस्टका रूपमा स्थापित गर्न चाहन्थिन् । गायिका कम मोडल लुक्स बढी भएकी सञ्जनालाई रूप र सुर दुवैले साथ दिएकाले पनि उनीले नेपाली मनोरञ्जनको संसारमा आफूलाई सफल कलाकारका रूपमा चिनाउन चाहेको बताएकी छिन् । हालै सञ्जनाले गाएको सुनौलो विहानीले महिलातफको सर्वोत्कृष्ट पप गायनको एवार्ड जितेको छ । यसले उनलाई अगाडी बढ्न थप हौस्याएको छ । दर्शकस्रोतामाझ लोकप्रिय हुने गीत गाएर 'नेमफेम' कमाउने उद्देश्य उनले राखेकि छिन् । जीवनमा आरोह अवरोह झेलिसकेपछि सञ्जना थप परिपक्व भएको पनि थप्छिन् । अहिले सञ्जना आफु सिंगल रहेको जिकिर गर्छिन् । यसले सांगीतिक यात्रा बढाउन झनैं सहज भएको छ । 'साथीभाईहरु थुप्रै छन्, तर कसैसँग प्रेममा छैन' उनको प्रेम जीवनको बारेमा सोधिएको प्रश्नमा सञ्जनाले भनिन्-'अहिलेसम्म मन मिल्ने साथी भेटेको छैन्, तर आउनेदिनमा मन मिल्ने साथी नहोला भन्न सक्दिन् ।'

नायिकाको जोडी
हास्य कलाकारितामा जोडी बनाउने चलन नयाँ होइन । थुप्रै हास्यकलाकार जोडिकै रूपमा लोकप्रिय छन् । यतिबेला नेपाली चलचित्रमा पनि जोडी बाँध्ने चलन प्रारम्भ भएको छ । पछिल्लो समय दुई नायिकाले जोडी बाँधेका छन् । पर्दाभित्र र बाहिर जोडीका रूपमा प्रस्तुत हुने नायिकाद्वय हुन् प्रियंका कार्की र केकी अधिकारी । पछिल्लो अवधीमा यी दुई नायिकाले केही चलचित्रमा सँगै अभिनय गरेका छन् । मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'श्री ५ अम्बरे' मा केकी र प्रियंका महत्वपूर्ण भूमिकामा छन् । यसअघि यी दुईले प्रसन्न पौडेलको 'मेरो बेष्ट फ्रेन्ड' मा सँगै अभिनय गरेका थिए । प्रदर्शनको क्रममा रहेको चलचित्र 'फन्को' मा पनि यी दुवैले अभिनय गरेका छन् । माल्भिका सुब्बाले निर्माण गर्ने चलचित्र 'हाउ फन्नी' मा पनि यी दुवै नायिका सँगै काम गर्दैछन् । चलचित्रको पर्दामा मात्र होइन, केकी र प्रियंकालाई कतिपय सार्वजनिक समारोहहरूमा समेत सँगै देखिन्छ ।  

रचनाकी छोरीसँग भुवनका छोरा
रचना गुरुङ शर्मा चर्चित कोरियोग्राफर हुन् । विशेष गरी मिस नेपाल प्रतियोगितामा उनको कोरियोग्राफीको निकै चर्चा हुने गरेको छ । रचनाका तीन छोरीमध्ये माइली तथा कान्छी छोरी आफ्नो पहिलो चलचित्र 'होस्टेल'बाट चर्चा कमाएका निर्देशक हेमराज बिसीद्वारा निर्देशित दोश्रो चलचित्र 'जेरी'मा नायिकाका रूपमा प्रस्तुत हुँदैछन् । 'होस्टेल'मा युवा दर्शकबाट औधी रुचाइएका सदाबहार नायक भुवन केसीका नायक पुत्र अनमोल केसीको दोस्रो चलचित्र 'जेरी' मा उनीहरू दुवैले काम गरेका छन् । निर्देशक बिसीका अनुसार रचनाकी माइली छोरी अमलिया शर्मा सहभूमिकामा छिन् भने चलचित्रकी नायिकाको भुमिका उनकी १६ वषिर्या छोरी आना शर्माले निर्वाह गरेकी छिन् । मुस्ताङका रमणीय दृश्यहरूसहितको यो चलचित्रको प्रोमोलाई अहिले युटुयुब तथा टेलिभिजन हेर्नेहरूले निकै रुचाइरहेका छन् । 'यो चलचित्रका लागि भर्खरका युवतीको खोजीमा थिएँ । सहनिर्माता सम्राट् गौचनको रचना दिदीसँग राम्रो परिचय रहेछ । उहाँलाई कथा सुनाएपछि दुवै जनालाई हामीले यो चलचित्रमा कास्टिङ गरेका हौं । दुवैले चलचित्रमा चित्तबुझ्दो काम गरेका छन् ।' निर्देशक बिसीले भने । चलचित्र 'जेरी' कात्तिक २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

आमेशको डेब्यु
दिनेश डिसी निर्देशकका रूपमा स्थापित भैसकेका चलचित्रकर्मी हुन् । डिसीले निर्देशन गरेका चलचित्रहरू व्यवसायिक रूपले असफल भएका छैनन् । यही  उत्साहका कारण हुनसक्छ, यतिबेला डिसी निर्माता समेत भएका छन् । हाल छायांकन भैरहेको चलचित्र 'फूलै फूलको मौसम तिमीलाई' का निर्माता तथा निर्देशक डिसी स्वयं हुन् । यो चलचित्रमार्फत डिसीले एउटा नयाँ अनुहार आमेश भण्डारीलाई नायकका रूपमा प्रस्तुत गर्दैछन् । ५ फिट ९ इन्च अग्ला आमेशले यो चलचित्रमा नायिका नीता ढुंगानासँग अनस्त्रिmन रोमान्स गरेका छन् । अभिनय तथा नृत्यको प्रशिक्षण लिएर चलचित्र क्षेत्रमा आएका आमेशको भविष्य भने यो चलचित्र प्रदर्शन भएपछिमा मात्र तय हुनेछ ।
प्रकाशित: कार्तिक २१, २०७१