गन्तव्य

जामुनखाडी सीमसार क्षेत्र

- युवराज गौतम
तराईमा उखरमाउलो गर्मी चर्कदा रूखको छहारी खोज्नुपर्छ। तराईका जिल्लाहरूमा गर्मीले आकुल-व्याकुल बनाउँदा मन भुलाउने गन्तव्य कमै छन्। पूर्वको तराईमा शीतल हावा चल्ने मनोरम स्थल फेला पार्न मुस्किल छ, तर त्यसका बाबजुद अपवादकै रूपमा झापाको जामुनखाडी सीमसार क्षेत्र पर्यटकीय नमुनाका रूपमा चर्चित छ। सुरुङ्गा गाविसमा पर्ने जामुनखाडी क्षेत्र सबैको रोजाइमा पर्न थालेको छ। पिकनिकमा रमाउनदेखि लिएर प्रेमजोडीहरूले समेत डेटिङका लागि जामुनखाडीलाई रोज्न थालेका छन्। त्यसका अतिरिक्त जडीबुटी, वन्यजन्तु तथा सीमसार क्षेत्रको अध्ययन-अवलोकनका लागि अध्ययनकर्ताहरूसमेत जामुनखाडी पुग्न थालेका छन्।
जामुनखाडी सीमसार क्षेत्र पूर्व-पश्चिम राजमार्गको सुरुङ्गाबाट करिब एक किलोमिटर उत्तर हिँडेर वा गाडीमार्फत पुग्न सकिन्छ। जमुनाबारी सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको यो पर्यटकीय स्थल भारतका पर्यटकहरूको गन्तव्यका रूपमा समेत विकास हुँदै गएको छ। जमुनाबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरीका अनुसार तराई क्षेत्रका पर्यटकीय स्थलहरूमध्ये जामुनखाडीको छुट्टै विशेषता एवं महत्त्व छ। 'हामी यो सीमसार क्षेत्रलाई 'असुरक्षित वन्यजन्तुको सुरक्षित स्थल' का रूपमा विकास गर्न खोजिरहेका छौं, गिरीले भने- 'हामी यो क्षेत्रलाई विश्वभर चिनाउन चाहन्छौं।'
जामुनखाडी क्षेत्रलाई स्थानीय वन उपभोक्ता समितिको सक्रियतामा पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ। चुरे क्षेत्रको घना जंगलका रूपमा रहेको यो भूभाग यतिबेला उत्कृष्ट गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। वि.सं. २०५२ सालमा वन उपभोक्ता समिति गठन गरी उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अघि सारिएको हो। जामुनखाडीमा विश्वबाट लोप हुँदै गएको अजिङ्गर पनि संरक्षित गरिएको छ। त्यहाँको सानो चिडियाखानामा अन्य वन्यजस्तुहरू पनि संरक्षित छन्। जामुनखाडीको पोखरीमा नौका विहार गरेर रमाउन सकिन्छ। त्यहाँ मृगस्थली, बालउद्यान, रंगीन माछाको पोखरी, झोलुङ्गे पुल आदिमा पर्यटकहरू रमाउन पाउँछन्।
विशेष गरी शीतल हावा चल्ने र प्राकृतिक सुदरतायुक्त यो सीमसार क्षेत्र घुम्दा सबैको मन रमाउँछ। यहाँ चरिबाघ, गिद्ध, हुचिल, दुई जातका मृग, जरायो, अजिंगरजस्ता दुर्लभ वन्यजन्तु संरक्षण गरिएको छ। गंगा तथा जमुना पोखरीको पनि संरक्षण गरिएको छ। सामुदायिक वनको २५ हेक्टर क्षेत्रफलमध्ये १० हेक्टर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको छ। जामुनखाडी प्रवेश गर्न २० रुपैयाँ शुल्क तिर्नुपर्छ। त्यहाँ दैनिक ५ सय पर्यटक पुग्छन्। नजिकैको बिर्तामोड तथा दमकमा सुविधासम्पन्न होटल तथा लज उपलब्ध छन्। काठमाडौंबाट ५ सय ५० किलोमिटरको बस यात्राबाट जामुनखाडी पुग्न सकिन्छ। हवाईजहाजबाट आउनेहरू विराटनगर वा भद्रपुर विमानस्थलमा उत्रिएर ट्याक्सी वा स्थानीय यातायातमार्फत जामुनखाडी पुग्न सक्छन्।
प्रकाशित: कार्तिक ८, २०७१