चरा र मान्छेहरू

काठमाडौंको शिवपुरीमा राष्ट्रिय निकुञ्जसहितको ठूलो वनक्षेत्र छ। वि.सं. २००० तिर एक जना प्रसिद्ध साधु यही वन क्षेत्रमा प्रवेश गरेका थिए। त्यो बेला उनको उमेर सय वर्षभन्दा बढी थियो। तीनै साधुले थप ३८ वर्ष पशुपति र उक्त वनमा बसेर यो क्षेत्रलाई पवित्र बनाए। ती साधुलाई आज पनि शिवपुरी बाबाका रूपमा श्रद्धा गरिन्छ। बेलायतकी महारानी एलिजावेथ द्वितीय, महान् रूसी साहित्यकार लियो टाल्सटायजस्ता व्यक्तिले प्रेमपूर्वक उनीहरूको दरबारमा राखेका यी बाबा ती सबै छाडेर नेपाल आए। नेपालमा पनि त्यही शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगलमा बसे। जंगलमा बसेका बेला उनले आफ्ना भक्तहरूलाई भने, 'संसारमा बस्न लायक जम्मा दुई ठाउँ रहेछ, 'एउटा बेलायतको बकिंघम दरबार र अर्को यही जंगल।' जब मैले उक्त कुरा पढ्न पाएँ, शिवपुरी बाबाले बसोवास गरेको जंगल हेर्न जान मन लाग्यो। केही दिनअघि दुई दिन लगातार यो निकुञ्जका कुनाकाप्चाको भ्रमण गर्दा मैले धेरै त देखिन, तर त्यहाँका चराचुरुङ्गीले मलाई आफ्ना बारेमा जे कुरा भने, त्यसैलाई यहाँ प्रस्तुत गर्दैछु।
०००
चरा र मानिसबीचको सम्बन्ध त्यो बेलादेखि छ, जुन बेला उनीहरू यो पृथ्वीका बासिन्दा भए। जब मानिसलाई भोक लाग्थ्यो, चराहरू मानिसका आहारा बन्थे। जब मानिसलाई जाडो हुन्थ्यो, चराका भुत्ला उनीहरूका वस्त्र हुन्थे। जब मानिसमा सौन्दर्य चेतनाको विकास भयो, त्यही समयदेखि चराहरू मानिसका साथी भए, पिंजडाका बन्दी पनि भए। कोइलीको श्वर सुनेर मानिसले गाउन थाल्यो। मयूर नाचेको देखेपछि मानिसमा पनि नाच्ने प्रेरण्ाा जाग्यो। आज मानिस नृत्य र गायनमा जति पारंगत छ, त्यसको पहिलो गुरु यिनै चरा हुन्। चरा ब्रम्ह मुहूर्तमा उठेर चिरबीर गर्छ, घडी नभएको त्यो समयमा यही चिरबिर सुनेरै मानिसले बिहानी भएको थाहा पाउन थाले। कुनै चिन्तित व्यक्तिलाई चराहरूको झुन्डमा छाडिदिनुहोस्, उसको उफ्राइ, खेलाइ, उडान तथा चिरिबीर नै उसको चिन्ता मुक्त हुने मुख्य औषधि बन्न पुग्छ। यो धेरै मनोवैज्ञानिकहरूले प्रयोग गरिसकेको पुरानो औषधी हो।
०००
चराहरू मानिसका प्रथम प्रेरणाका स्रोत एवं गुरु हुन्। चरा आकाशमा स्वच्छन्द उडेको देखेरै प्रसिद्ध चित्रकार लियोनार्दो द भिन्चीले हवाइजहाजको परिकल्पना गरेका थिए। त्यही कल्पनालाई राइट दाजुभाइ ओलिभर र एल्भरले हवाईजहाजको रूप दिए। जतिबेला विश्वमा हुलाकको प्रचलन थिएन, त्यो बेला मानिसहरू चिठ्ठी पुर्‍याउन बाज र परेवा प्रयोग गर्थे। उनीहरू बाज र परेवाको खुट्टामा चिठ्ठी बाधिदिन्थे र इमान्दार हुलाकी झैं ती चराले चाहेकै व्यक्तिको हातमा चिठ्ठी पुर्‍याइदिन्थे। त्यो बेला प्रेमी-प्रेमीकाको भरपर्दो हुलाकी पनि तिनै चरा थिए।  
०००
हामी यमपञ्चकको पहिलो दिन कागतिहार मनाएर कागको सम्मान गर्छौं। हामी सुंगा पालेर त्यसलाई बोल्न सिकाउँछौं। हाम्रो लोकगीतमा कोइली र न्याउलीको गुणगान हुन्छ। काफल पाक्यो भन्दै काफल चरी कराएको हामी सबैलाई मनपर्छ। हामी नवदम्पतीलाई परेवा र चखेवा जस्तो जोडी होस् भनेर आशिष दिन्छौं। यौन हाम्रो समाजमा सधैं गोप्य नै छ तर जब गौंथलीको मैथुनको प्रसंग निस्कन्छ, त्यसको सौन्दर्यका अगाडि अन्य सबै सौन्दर्य फिक्का हुन्छ।
प्रकाशित: आश्विन ३, २०७१