ठमेल पुरानो पर्यटकीय स्थल हो। यद्यपि यहाँ पुरानो शैलीका रेस्टुराँ औंलामा गन्न सकिन्छ। ठमेल हाउस रेस्टुराँ एन्ड क्याफे उक्त क्षेत्रको पुरानो तर चर्चित रेस्टुराँ हो। प्यागोडा शैलीको पुरानो नेवारी घरमा सन् १०९४ देखि सञ्चालनमा आएको उक्त रेस्टुराँ स्थानीय पर्यटन व्यवसायी नरेन्द्रमान श्रेष्ठले सञ्चालनमा ल्याएका हुन्। इँटाले बनेको देवल तथा मौलिक कला कँुदिएका झ्याल-ढोकाले सजिएको यो रेस्टुराँमा खुल्ला बगैंचा पनि छ।
यो रेस्टुराँ तीन तलामा फैलिएको छ। प्रत्येक तलामा फरक स्टाइलका फर्निचर राखिएको छ। रेस्टुराँका कर्मचारी दुर्गा लामाका अनुसार यहाँ नेपाली खाना सेटको १ हजार २ सय रुपैयाँ पर्छ भने नेवारी परिकारको मूल्य अर्डरअनुसार कायम गरीएको छ। विदेशी पर्यटकहरू यो रेस्टुराँमा परिकारको स्वाद मात्र लिँदैनन्, मौलिक सामग्रीहरू देखेर उत्तिकै रमाउँछन् पनि।
प्रकाशित: आश्विन ३, २०७१