समाचार

भोलि राष्ट्रिय चलचित्र पुरस्कार

काठमाडौं
भोलि शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा 'एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार-२०७१' मा वर्षका उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीहरूलाई एवार्ड प्रदान गरिँदैछ। एवार्ड वितरण समारोहलाई आकर्षक बनाउन दुई दर्जनभन्दा बढी कलाकारले आकर्षक प्रस्तुत दिँदैछन्। आफ्नो प्रस्तुति दिन उनीहरू विगत दुई सातादेखि अभ्यासमा व्यस्त छन्। समारोहको प्रारम्भमा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति समर्पित सांगीतिक प्रस्तुतिमा कलाकारहरूले सामूहिक नृत्य गर्नेछन्। कोरियोग्राफर कविराज गहतराजले कलाकारहरूलाई श्रीकृष्ण श्रेष्ठ अभिनित लोकप्रिय गीतमा प्रस्तुत गर्नेछन्।
दिलीप रायमाझी, केकी अधिकारी, एन्नी कुँवर, सुजाता कोइराला, रिस्ता बस्नेत आदि कलाकारले श्रीकृष्णलाई नृत्यबाट श्रद्धाञ्जली दिनेछन्। यही समारोहमा करिब आठ वर्षपछि अभिनेता रमेश उप्रेती मञ्चमा देखा पर्नेछन्। रमेशले नायिका करिश्मा मानन्धरसँग जोडी बाँधिएर नृत्य प्रस्तुत गर्दैछन्। समारोहमा अनु शाह, निश्मा घिमिरे, अशिष्मा नकर्मी, नम्रता सापकोटा, रोहित रुम्बा, यशराज गराच, रविन हुड्डा, निरज बराल, सुष्मा कार्की आदिले पनि विभिन्न प्रस्तुतीमार्फत समारोहलाई मनोरञ्जक बनाउनेछन्। रेड कार्पेटसहितको उक्त समारोह करिब तीन घन्टा चल्नेछ।
प्रकाशित: भाद्र २०, २०७१