सेलिब्रेटी तीज मुड
नायिका गरिमा पन्तलाई नयाँ चलचित्र 'ठूली' को प्रदर्शनले यसपटक तीजको रमझममा सहभागी हुन दिएको छैन। आज शुक्रबारदेखि यो चलचित्र प्रदर्शनमा आउने भएपछि उनी यतिबेला ठूलीकै प्रचारप्रसारमा जुटेकी छिन्। 'यसपटक मलाई अलि ढिलो तीज लाग्दैछ, गरिमा भन्छिन्- तीजलाई लक्षित गर्दै आफ्नो नयाँ चलचित्र प्रदर्शन भएकाले दर खाने दिन तथा तीजको दिनसमेत उनी काठमाडौंका विभिन्न सिनेमा हलमा पुगेर त्यहाँ भेला भएका दिदीबहिनीहरूको उत्साह बढाउनेछिन्।
करिब दुई साता गाईजात्रा महोत्सवमा प्यारोडी गीत प्रस्तुत गरेर फुर्सदमा रहेकी गायिका इन्दिरा जोशीले हालसम्म एउटा मात्र तीज गीत गाएकी छिन्। एउटा मात्र गीत गाए पनि उनलाई तीज विशेष कार्यक्रमका लागि निमन्त्रणा आइरहेको छ। यसपटकको तीजमा उनले अघिल्लो दिन दर खाएर भोलिपल्ट (व्रतको दिन) पशुपति जाने योजना बनाएकी छिन्। इन्दिराको परिवारमा विवाहपछि मात्र व्रत बस्ने चलन छ, त्यो पनि पानीसमेत नखाई। अविवाहित भएकाले इन्दिरा व्रत त बस्दिनन्, तर रमाइलोका लागि तीजको दिन कुनै कार्यक्रम परेन भने मन्दिर भने जान्छिन्।
गायिका प्रजिता गेलाललाई तीज लागेको दुई साता भयो। हाल अस्टे्रलियामा रहेकी प्रजिता विगत दुई सातादेखि दर खाने कार्यक्रममा सहभागी भैरहेकी छिन्। आज शुक्रबारदेखि आगामी बिहीवारसम्म प्रजिताले रातो साडी र कुर्ता-सलवारमा सजिने योजना बनाइसकेकी छिन्। तीजकै अवसरमा एडिलेडमा आयोजना हुने सांगीतिक कार्यक्रममा उनी आफ्ना केही गीतसमेत प्रस्तुत गर्दैछिन्।
भिडियो जक्की तथा मोडल रेखा पुरी यसपटकको तीजमा छुट्टै रमाइलो अनुभव गरिरहेकी छिन्। पहिलो पटक देशबाहिर तीज मनाउन लागेकाले पनि यसपटकको तीज रेखाका लागि विशेष हुने भएको हो। तीजकै अवसरमा रेखाले ५-६ वर्षदेखि भेट नभएका आफ्ना दाजूलाई समेत भेट्दैछिन्। उक्त भेटघाटले पनि आफ्नो तीज स्मरणीय हुने रेखाको विश्वास छ।
इभेन्ट म्यानेजर तथा गीतकार हेमा मानन्धर नेवार समुदायकी भए पनि विगत १५ वर्षदेखि तीजको व्रत बसिरहेकी छिन्। गैरनेवार साथीहरू बढी भएका कारण पनि उनी तीजलाई भव्य तरिकाले मनाउँछिन्। यसपटक उनको व्रत अझ विशेष हुँदैछ। 'साउनको सोमबारको व्रतलाई भदौ महिनामा पनि निरन्तरता दिएकी छु,' हेमा भन्छिन्— 'हप्ताको एक दिन व्रत बस्दा छुट्टै प्रकारको आनन्द आउँछ। तीज त व्रतहरूको पनि व्रत हो।' हेमालाई तीज विशेष लाग्ने कारण थुप्रै छन्। उनी भन्छिन्— 'नजिकका साथीहरूसँग भेटघाट हुन्छ, चुरा, धागो, टीकासहितको उपहार आदानप्रदान गर्न तथा दर खान पाइन्छ। सबैभन्दा रमाइलो कुरा तीजको दिन रातो साडी लगाएर व्रत बस्दै पशुपतिको दर्शन गर्न पाइन्छ।' यसपटकको तीजका लागि हेमाले रातो र नीलो रंग मिश्रति साडी किनिसकेकी छिन्।
नायिका सुष्मा अधिकारीलाई तीज नेपाली महिलाहरूको महान् चाड हो जस्तो लाग्छ। उनी सबै नेपाली दिदीबहिनीझैं आफू पनि तीजको प्रतीक्षामा रहने बताउँछिन्। 'तीज नजिकिँदै जाँदा सबै आफन्त तथा दिदी-बहिनीहरूसँग भेट हुने भएकाले पनि म अझ बढी उत्साहित हुन्छु,' सुष्मा भन्छिन्— 'हरेक तीजमा झैँ यसपटक पनि म आफन्तजन, साथीभाइ तथा दिदी-बहिनीहरूको निमन्त्रणा स्वीकार गर्दै दर खान जान्छु र उहाँहरूलाई आफ्नो घरमा बोलाएर दर ख्वाउने कार्यक्रम पनि सम्पन्न गर्छु।' सुष्माका अनुसार यसपटकको तीजमा पनि उनी सधैंझैँ व्रत बस्ने योजनामा छिन्। सामान्यतः उनी तीजको व्रत फलफूल खाएर बस्छिन्।
मोडल रेन थापालाई पनि तीज लागिसकेको छ। विगतमा तीजको व्रत नबसे पनि यसपटक उनी भविष्यको श्रीमान्का लागि व्रत बस्दैछिन्। म्युजिक भिडियोको अभिनयमा व्यस्त रेन तीजको दिन कोटेश्वर महादेवस्थानमा लाइन लागेर महादेवको दर्शन गर्ने योजना बनाइरहेकी छिन्।
तेक्वान्दो खेलाडी खुसी गुरुङ भने तीजका गीत सुन्दै तीज मनाउने पक्ष्ामा छिन्। हङकङमा बसोबास गर्ने खुसीको संस्कृतिमा तीजको व्रत बसिँदैन, तर तीजविशेष कार्यक्रममा भने उनी सहभागी भैरहेकी छिन्। 'युट्युबमा तीज गीतका म्युजिक भिडियो हेरेर तीज मुड बनाइरहेकी छु,' खुसी भन्छिन्— 'महिलाहरूलाई एकताबद्ध बनाउने यो चाडले उनीलाई स्वतन्त्रता पनि प्रदान गरेको छ, वर्षमा एकपटक मन खोलेर रमाइलो गर्ने अवसर प्रदान गरेको छ।'
गायिका श्रुतिसिंह ठकुरीलाई पनि तीज लागेको छ। 'चाडपर्व आउनेबित्तिकै विभिन्न प्रकारका परिकार खान रुचाउँछ,' श्रुति भन्छिन्— 'तीज त झन् खानपिनकै पर्व हो। एक महिनादेखि दर खाने कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो लागिरहेको छ।' श्रुति दिनभरि भोकै बसेर व्रत बस्ने पक्षमा भने छैनन्।
मोडल लक्ष्मी बस्नेतलाई तीजको दिन साडी लगाउन पाइने भएकाले यो दिन असाध्यै पि्रय लाग्छ। 'अरू दिन साडी लगाएर बस्ने, हिंड्ने भन्ने हुँदैन,' लक्ष्मी भन्छिन्— 'तीजमा भने साडी लगाइएन भने कस्तो-कस्तो हुन्छ।' म्युजिक भिडियो तथा र्याम्प मोडलिङमा रमाइरहेकी लक्ष्मीलाई तीजको दिन इम्ब्राेइडरी गरिएको रातो साडीमा छमछम नाच्न उत्तिकै रमाइलो लाग्छ। तीजमा उनी व्रत भने बस्दिनन् ।
गायिका जानकी पन्थले भने तीन वर्षपछि यसपटक तीज गीत गाएकी छिन्। यतिबेला उनी काठमाडौंका विभिन्न स्थानमा सञ्चालन भैरहेका तीजविशेष कार्यक्रममा आफ्नो त्यही तीज गीत प्रस्तुत गरिरहेकी छिन्। 'तीजको दुई दिनअघि फाइनल परीक्ष्ाा हुने भएकाले म तीजको दिन रमाइलो गर्न भ्याउँदिनँ होला,' जानकी भन्छिन्— 'व्रत त म बस्नै सक्दिनँ। भोक खप्न नस्कने बानीका कारण मैले अहिलेसम्म तीजको व्रत बस्न सकेकी छैन।'
गायिका देविका बन्दनाले यसपटकको तीज विशेष हुने अनुमान गरेकी छिन्। 'दुई दशक लामो सांगीतिक करियरमा मैले यसपटकको तीजलाई लक्षित गर्दै पहिलो पटक तीज गीत गाएकी छु, देविका भन्छिन्— 'पहिलो पटक भए पनि मलाई यो गीत गाउन पाउँदा असाध्यै खुसी लागेको छ। मैले आफ्नो तीज गीतमा केही भिन्न स्वाद दिने प्रयास गरेकी छु।' पहिलो पटक तीज गीत गाएकाले होला, यसपटक उनी तीज विशेष कार्यक्रममा सहभागी समेत भैसकेकी छिन्। हरेक तीजमा व्रत बस्दै आएकी देविका यसपटक पनि उक्त कार्यलाई निरन्तरता दिँदैछिन्।
गायिका मनीषा पोखरेल पनि यसपटक विभिन्न तीज विशेष कार्यक्रममा सहभागी भैरहेकी छिन्। मनीषाले पनि पहिलो पटक एउटा तीज गीत गाएकी छिन्। 'यही तीजमा नाचौंला' शीष्र्ाकको एल्बममार्फत सुगम संगीतकी यी गायिकासहित जुना प्रसाई र प्राश्ना शाक्यले पहिलो पटक तीज गीत गाएका हुन्। तीजमा दर खाने र व्रत बस्ने कुरा मनीषालाई विशेष लाग्छ। उनी तीजको दिन पशुपतिनाथको दर्शन गरेपछि मात्र फलफूल खान्छिन्।
मोडल सुपि्रया कटवाल जीवनमा पहिलो पटक तीजको व्रत बस्दैछिन्। थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेर चर्चामा आएकी सुपि्रयालाई तीज आउने बेलाको मौसम नै मनपर्छ । तीज विशेष कार्यक्रममा नृत्य गर्न मन पराउने सुपि्रयाले तीजका लागि रातो रंगको लेहंगा-चोली तयार पारेकी छिन्।
फेसन डिजाइनर पूनम क्षेत्री गौतमका अनुसार तीज महिलाहरूको प्रमुख चाड हो। प्रत्येक महिलाले तीजलाई भव्यता दिनुपर्छ भन्ने धारणा पूनमको छ। विशेष गरी चेलीबेटीहरूका लागि तीज विशेष हुने भएकाले यसलाई सकरात्मक भावनाबाट मनाउनुपर्ने कुरामा उनी जोड दिन्छिन्। पूनमलाई बाल्यकालदेखि नै यो पर्व रमाइलो लाग्थ्यो। विवाह गरेपछि यो पर्वको महत्व अझ बढेको उनको बुझाइ छ। यसपटक उनी माइतीगाउँ चितवन पुगेर आमा, बुवा, दिदीसँग तीज मनाउँदैछिन् ।
नायिका अनु शाहलाई सबैभन्दा मनपर्ने पर्व नै तीज हो। यसपटक तीजको अघिल्लो दिन खाइने दरका लागि अनुले मेनु त तयार पारिसकेकी छैनन्, तर उनी परिवारका सदस्यसँगै बसेर खीर खाने योजना बनाउँदैछिन्। उनी तीजमा व्रत पनि बस्दैछिन्। राम्रो श्रीमान् मिलोेस् भन्ने उद्देश्यले व्रत बस्ने चलनका सम्बन्धमा उनलाई राम्रोसँग थाहा छ। अनु भन्छिन्— 'म पनि राम्रो श्रीमान् पाऊँ भनेरै व्रत बस्छु।'
चलचित्रको पाश्र्व गायनमा व्यस्त गायिका दुर्गा खरेलले अघिल्लो वर्षदेखि तीजका गीत समेत गाउन थालेकी छिन्। दुर्गा तीजको व्रत त बस्दिनन् तर रातो रंगको कुर्ता-सलवारमा सजिएर पूजा गर्न पशुपतिनाथको मन्दिर भने पुग्छिन्। नायिका नन्दिता केसी तीजलाई रमाइलो पर्वका रूपमा चित्रण गर्छिन्। परिवारका सदस्यहरू भेला भएर दर खाने अनि व्रत बस्ने उनको योजना छ। तीजका लागि उनी विशेष सपिङ भने गर्दिनन्। पहिरनमा रातो रंग उनको रोजाइमा पर्छ।
गायिका जुनु रिजाल यसपटकको तीजमा पहेंलो र रातो कन्ट्रासमा नेकसम्मको ब्लाउज लगाएर पर्फम गर्ने तयारीमा छिन्। अहिले फेसनमा आएको कमर बन्द गहनासमेत लगाउने उनको योजना छ। विगतका तीजहरूमा पनि उनी रातोमा सितारा भरिएको साडी लगाउँथिन्, तर उनलाई सिम्पल जापानी साडी पनि मन पर्छ। त्यस्तो साडी लगाउँदा सहज हुनुका साथै आकर्षण पनि देखिने जुनुले बताइन्। तीजमा विशेष देखिनुपर्ने भएकाले पनि गायिका रिजाल हेभी मेकअपमा हुन्छिन्। रातो लिपिस्टिक, रातै नेलपोलिस उनको राजाइमा पर्ने कस्मेटिक हुन्। तीजमा कलर कन्ट्रास्ट मिलाएर रातो, हरियो तथा पहेंलो रंगका चुरा लगाउने योजनामा छिन् रिजाल। गहना लगाउने खासै सोख नभएकाले पनि होला, रिजाल सामान्य गहना मै चित्त बुझाउँछिन्।
बाल्यावस्थादेखि नै मलाई रातो रंगका पहिरन मन पर्थे। अझ तीजमा त रातो रंग विशेष नै हुने भएकाले म यसमा थप रमाउँछु। विवाहित नारीका लागि रातो रंगको विशेष महत्त्व हुने भएकाले पनि म रातो पहिरनको सौखिन हुँ भन्दा फरक पर्दैन। यस पटकको तीजका लागि रातो र हरियो मिक्स साडी तयार छ। आजसम्म मैले तीजमा लगाउने पहिरन किनेकी छैन। यसपटकको तीजका लागि धागो गिफ्ट आएकाले हेयर स्टाइल पनि बाटेको हुनेछ। मलाई गहनामा रुचि छैन। विवाहित भएकाले छड्के तिलहरी, हातमा चुरा र कानमा झुम्का लगाउँछु। सुन धेरै लगाउँदिन, समय पनि खराब भएकाले म सुनका गहना त्यति लगाउँदिनँ। मसँग तीन वर्षदेखि तीजमा मात्र बोक्दै आएको रातो थैली छ। यस पटकको तीजमा पनि त्यही नै बोक्ने योजनामा छु। तीजमा म मखमलको स्लिपर लगाउँछु। हिँड्न तथा मन्दिर जान सहज हुने भएकाले फ्ल्याट जुत्ता नै मेरो रोजाइमा पर्छ।