प्रतिस्पर्धा
आज नयाँ ग्ल्याम हन्ट
आज साँझ ७ बजे सोल्टी होटलमा निर्माण गरिएको आकर्षक र्याम्पमा विगत एक महिनादेखि प्रशिक्षणमा व्यस्त ती युवतीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दैछन्। विभिन्न क्षेत्रका सात जना निर्णायकमाझ विभिन्न तीनवटा सिक्वेन्समा आफ्नो प्रतिभा प्रदर्शन गरेपछि एक जना युवतीले वर्ष २०१४ को 'ग्लाम हन्ट' को उपाधि जित्नेछिन्। उपाधिसँगै उनले जोय कस्मेटिक्स इन्डियाको नेपाल ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्नेछिन् भने नगद ५० हजार रुपैयाँ पनि जित्नेछिन्। विजेता सुन्दरीले जोयका कस्मेटिक्समा एक वष्र्ासम्म मोडलिङ गर्नेछिन्। त्यसबाहेक विजेतालाई नीरकमल ज्ञानकुञ्ज फाउन्डेसनले सञ्चालन गरेको प्रोजेक्ट वान रुपिज एजुकेसनको ब्रान्ड एम्बेसडरसमेत घोषणा गरिनेछ भने फस्ट रनर्सअप तथा सेकेन्ड रनर्सअपको उपाधि विजेताले नगद ३० हजार तथा २० हजार प्राप्त गर्नेछन्। यसबाहेक प्रतियोगीहरूले विभिन्न सातवटा टाइटल एवार्डसमेत पाउनेछन्। ५ हजार रुपैयाँको टाइटल एवार्डअन्तर्गत विजेतालाई पर्फेक्ट फिगर, बेस्ट स्माइल, बेस्ट स्किन, बेस्ट हेयर, बेस्ट वाक, बेस्ट फोटाजेनिक तथा पपुलर फेस विधामा पुरस्कृत गरिनेछ। पपुलर फेसका लागि भने जोयको फेसबुक पेजमा गरिएको लाइकलाई आधार बनाइनेछ।
विज इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा पूर्व मोडल प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगितालाई तीन वटा सिक्वेन्समा विभाजन गरिएको छ। पहिलो सिक्वेन्स प्रारम्भ हुनुअघि करिब १० मिनेटको 'जर्नी अफ जोय पपैया सन: अडिसन टु फिनाले' शीर्षकको वृत्तचित्र प्रदर्शन गरिनेछ। उक्त वृत्तचित्रमा प्रतियोगिताको अडिसनदेखि गत सोमबार ह्यात होटलमा सम्पन्न पि्र-जजिङसम्मका गतिविधि समेटिएका छन्। वृत्तचित्रको प्रदर्शनलगत्तै प्रारम्भ हुने पहिलो सिक्वेन्स 'इन्ट्रोडक्सन राउन्ड' मार्फत प्रतियोगिहरूको परिचय गराइनेछ। यो सिक्वेन्सका क्रममा प्रोजेक्टरमार्फत प्रतियोगीहरूको परिचय प्रसारण गरिनेछ भने त्यही क्रममा हट पाइन्ट र टिसर्टमा सजिएका प्रतियोगीले र्याम्पमा आफ्ना हाउभाउ प्रस्तुत गर्नेछन्। प्रतियोगितामा सबै प्रतिस्पर्धीले डिजाइनरद्वय ममता गुरुङ जोशी तथा रचना प्रधानले तयार पारेका पहिरन प्रदर्शन गर्नेछन्।
दोस्रो सिक्वेन्समा प्रतियोगिहरू डिजाइनर रचना प्रधानले फूलको अवधारणामा तयार पारेका समर वेयर लगाएर र्याम्पमा प्रस्तुत हुनेछन्। यो चरणमा पनि उनीहरूले क्याटवाक, आई कन्ट्याक्ट, पहिरन प्रदर्शनसहित प्रतिभा प्रदर्शन गरेर निर्णायकहरूलाई प्रभावित तुल्याउने प्रयास गर्नेछन्। तेस्रो तथा निर्णायक चरणलाई तीन भागमा विभाजन गरिनेछ। प्रत्येक भागमा आठ-आठ जना प्रतियोगी रहनेछन्। समूहमा विभाजन भएका प्रतियोगिहरू पालैपालो र्याम्पमा प्रस्तुत हुनेछन् भने मुख्य निर्णायकले सोध्ने एउटा सामूहिक जिज्ञासामा आ-आफ्ना धारणा व्यक्त गर्नेछन्। निर्णायक चरणका लागि आयोजकले प्रतियोगिहरूलाई 'ब्युटी विद द पर्पोज' विषयमा आफ्नो तर्क प्रस्तुत गर्नुपर्ने पनि बताइसकेका छन्। मिस वल्र्ड-२०१३ मा इशानी श्रेष्ठले 'ब्युटी विद द पर्पोस' विधामै एवार्ड जितेकाले ग्ल्याम हन्टका प्रतिस्पर्धीलाई पनि यही विषयमा बोल्न लगाउने निर्णय भएको कोरियोग्राफर तथा प्रशिक्षण प्रशान्त ताम्राकारले स्पष्ट पारेका छन्। निर्णायक चरणमा सबै प्रतिस्पर्धीले आ-आफ्नो धारणा एवं तर्क सुनाइसकेपछि विजेताको घोषणा गरिनेछ। प्रशिक्षक ताम्राकारका अनुसार जोय पपैयाको उत्पादनका लागि ब्रान्ड एम्बेसडर खोज्ने यो प्रतियोगिता व्युटि पेजेन्टभन्दा पृथक् भएकाले प्रतियोगीहरूसँग प्रश्नोत्तर नगरिएको हो। निर्णायक चरणमा पनि उनीहरूसँग प्रश्न सोध्नेभन्दा पनि उनीहरूको धारणा बुझ्ने प्रयास गरिनेछ।
यसपटकको प्रतियोगितामा सहभागी भएका प्रतिस्पर्धिहरू प्लस टुदेखि स्नातकोत्तर तहसम्म अध्ययरत छन्। प्रतियोगितामा सहभागी हुनुभन्दा अघि विद्यार्थीका रूपमा मात्र रहेका यी प्रतियोगिहरू करिब तीन महिनाको अवधिमा मोडलका रूपमा तयार भैसकेको प्रशिक्षक ताम्राकारको दाबी छ। 'कलेज-कलेजमा अडिसन गरिएकाले हामीले प्रतियोगितामा विशुद्ध छात्राहरूलाई लिएका थियौं,' ताम्राकार भन्छन्— 'प्रतियोगिताका लागि छनौट भएपछि उनीहरूलाई हामीले कठोर प्रशिक्षणमा राख्यौं। विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वबाट प्रशिक्षण दियौं। यो अवधिमा उनीहरूले फेसन, मोडलिङ, व्यक्तित्व विकाससहितका विधामा प्रसस्त जानकारी हासिल गरेका छन्। प्रतियोगितामा एक जनाले मात्र उपाधि जित्ने भए पनि २४ जनालाई नै हामीले उत्कृष्ट मोडलका रूपमा तयार पारेका छौं।'
प्रशिक्षणका क्रममा प्रतिस्पर्धीहरूलाई मौसम शाक्यले माइन्ड टे्रनिङ दिएका थिए भने कुसुमका सह-प्राध्यापक रूपेशकृष्ण श्रेष्ठले सेल्फ मार्केटिङ विधामा प्रशिक्षण दिएका थिए। फेसन डिजाइनर तेन्जिङ छिरिङ भुटियाले उनीहरूलाई स्टायलका बारेमा जानकारी दिएका थिए भने ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालले फेसन फोटोग्राफीसम्बन्धी टिप्स दिएका थिए। पूर्व मिस नेपाल इशानी श्रेष्ठले उनीहरूलाई मोटिभेसनसम्बन्धी ज्ञान दिएकी थिइन् भने मेकअप आर्टिस्ट सकिल कुँवरमार्फत उनीहरूले मेकअपसम्बन्धी जानकारी लिएका थिए। बिगेन श्रेष्ठले उनीहरूलाई हेयर स्टायलसम्बन्धी प्रशिक्षण दिएका थिए।
प्रारम्भिक तथा दोस्रो चरणको अडिसनमा पनि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरूले ७ सय जना युवतीकोे परीक्षण गरेका थिए। त्यसक्रममा मोडल विधात्री पोखरेल, मोडल ओसिमा बानु, मिस नेपालकी सेकेन्ड रनर्सअप शुभेच्छा खड्का, फस्ट रनर्सअप रोजिशा शाही, नायिका वषर्ा शिवाकोटी, ग्ल्याम हन्ट-२०१३ की विजेता तथा नायिका अनिता आचार्य, फेसन डिजाइनर रचना प्रधान, लिडरशिप कोच अभिलाषा आचार्य, मोडल आयुष्मा श्रेष्ठ, नायिका अशिष्मा नकर्मी तथा जोय कस्मेटिकका अरुण मित्तलले अडिसनको चरणमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
प्रशिक्षणका क्रममा प्रतियोगिहरूले केही सामाजिक कार्यसमेत सम्पन्न गरेका छन्। निरकमल ज्ञानकुञ्ज फाउन्डेसनले रामेछापको ज्ञानज्योति उच्च माविलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको प्रोजेक्ट वान रुपिज एजुकेसनका लागि उनीहरूले कलेज-कलेजमा प्रतिमहिना एक-एक रुपैयाँ संकलन गर्ने अभियानको थालनी समेत गरेका छन्।
सामाजिक कार्यकै लागि प्रतियोगीहरूले नेपालको पहिलो विद्यालय दरबार हाईस्कुलमा रंगरोगनसमेत गरे। त्यस क्रममा प्रत्येक प्रतिस्पर्धीले ५-५ सय रुपैयाँ संकलन गरेर उक्त हाईस्कुलका दुईवटा कोठा सजाएका थिए। उनीहरूले एक दिन लगाएर ती कोठामा आफैंले रंगरोगन गरेका हुन्। त्यसका लागि उनीहरूलाई चाइल्डरिच नेपालले सहयोग गरेको थियो। प्रतियोगीहरूलाई ग्रुमिङ तथा प्रशिक्षण दिने जिम्मा एन्टकोर स्टुडियोले लिएको थियो।
यस्ता छन् निर्णायक
प्रतियोगितामा विभिन्न सात क्षेत्रका युवा व्यक्तित्व निर्णायकका रूपमा सहभागी हुँदैछन्। प्रतियोगितामा कान्तिपुर पब्लिकेसन्सका सम्भव सिरोहिया, फोटोग्राफर राजभाइ सुवाल, अभिनेता तथा मोडल अनुपविक्रम शाही, फेसन डिजाइनर अन्नु श्रेष्ठ, मिस नेपाल-२०१३ इशानी श्रेष्ठ, फिटनेस इन्स्ट्रक्टर रोजी पुन तथा नायिका नम्रता श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। यी निर्णायकले गत सोमबार सम्पन्न पि्र-जजिङ सेसनमा सबै प्रतियोगीसँग पालैपालो छलफल गरिसकेका छन्।
ग्ल्यामहन्टका २४ सुन्दरी
आज साँझ होटल सोल्टी क्राउन प्लाजामा २४ जना युवती र्याममा आफ्नो दक्षता, प्रतिभा तथा सुन्दरताको प्रतिस्पर्धामा भिड्दै छन्। सबैमा आफूले नै जोय पपैया ग्लामहन्टको मुख्य उपाधि जित्छु भन्ने आत्मविश्वास छ। केही दिनअघि प्रतिस्पर्धाका लागि प्रशिक्षण लिने क्रममा उनीहरूको लगनशीलता हेर्दा लाग्थ्यो— ती सबैमा मुख्य उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ। १७ वर्षदेखि २२ वर्ष उमेर समूहका ग्ल्यामहन्ट कन्टेस्टका प्रतिस्पर्धीहरू सामान्य नेपाली युवतीहरूभन्दा केही अग्ला छन्। करिब ७ सय आवेदनमध्येबाट सय र सयबाट सुरुमा २१ र पछि तीन जना थपेर २४ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिएको बताउँदै कोरियोग्राफर तथा इभेन्ट व्यवस्थापक प्रशान्त ताम्राकारले भने- 'हामीले बुद्धिमत्ता एवं शरीरको उचाइलाई सामन्जस्य हुने गरी यी प्रतिस्पर्धीलाई फाइनलका लागि छानेका छौं।' यसरी छनौट भएका २४ जना प्रतिस्पर्धी के भन्छन् त ?
आस्था कार्की : मोडलिङ र फेसन जगत्मा सक्रिय हुने चाहनाका कारण म आफ्नो आत्मविश्वास वृद्धि गर्न यो प्रतिस्पर्धामा सहभागी भएकी हुँ। दुई महिनाजतिको प्रशिक्षणमा मैले चुनौती र कठिनाइहरूसँग लड्न सक्ने आत्मविश्वास बटुलेकी छु।
कृपा न्यौपाने : म व्यक्तित्व विकासका लागि यो प्रतिस्पर्धामा सहभागी भएकी हुँ। व्यक्तित्व विकास गरेपछि म समाजका लागि केही सकारात्मक कार्य गर्ने विचारमा छु। प्रशिक्षणका दौरान मैले आफूमा उल्लेखनीय परिवर्तन आएको पाएकी छु।
सोनिका श्रेष्ठ : म मेरी आमाको सपना र इच्छा पूरा गर्न यो प्रतिस्पर्धामा सहभागी भएकी हुँ, जुन मेरो आफ्नो सपना पनि थियो। यसमा छनौट भएपछि प्राप्त अनुभव र प्रशिक्षणले मलाई एस्प्रेसो पिएजस्तै अनुभूति भैरहेको छ। यसको हरेक चुस्की फरक र स्वादिलो भएको अनुभव सँगालेकी छु।
रइशा वैद्य : जीवनमा नौला-नौला अनुभवहरू सँगाल्ने रुचिका कारण म यो प्रतिस्पर्धामा सहभागी भएकी हुँ। प्रशिक्षणका दौरान मैले आफूमा सकारात्मक सोचको विकास भएको अनुभव गरेकी छु।
ऋतु मगर : लजालु स्वभावकी भएकाले म आफ्नो आत्मविश्वास बढाउन यो प्रतिस्पर्धामा सहभागी भएँ। छनौट भएर प्रशिक्षण लिएपछि मैले आफुमा आत्मविश्वास बढ्दै गएको अनुभव गरेकी छु।
पूजा खड्का : यो प्रतिस्पर्धाले मलाई सबल बनाउँदै आत्मविश्वास बढाउन मद्दत गर्छ भनेर सहभागिता जनाएकी हुँ। प्रशिक्षणका क्रममा अतिथि प्रशिक्षकहरूबाट जीवन सफल बनाउने सूत्रहरू सिकिरहेकी छु, जसले गर्दा मेरो आत्मविश्वास बढेको छ।
सिर्जना रेग्मी : यो जोय पपैया सनको ब्रान्ड एम्बेसडरको खोजी हो। मलाई लाग्यो कि मेरो अनुहार एवं शारीरिक बनावट त्यसका लागि फिट छ। उत्कृष्ट २४मा छनौट भएपछिको प्रशिक्षणका क्रममा मैले आफूलाई एक उत्कृष्ट व्यक्तिका रूपमा परिवर्तन हुँदै गएको महसुस गरेकी छु।
साइना श्रेष्ठ : भविष्यको कल्पना गर्दा म आफूलाई मोडलका रूपमा देख्छु। साप्ताहिक-जोय पपैया सन ग्ल्यामहन्ट त्यसका लागि गतिलो प्लेटर्फम हो। यसको दुईमहिने प्रशिक्षणबाट मैले जीवनलाई 'ब्लुम र गु्रम' गर्ने तरिका राम्रोसँग सिक्न पाएकी छु, जसले मलाई भविष्य निर्माणमा सहयोग पुर्याउनेछ।
सुपि्रया श्रेष्ठ : मलाई मोडलिङमा करियर बनाउने इच्छा थियो। यो प्रतिस्पर्धामा सहभागी भएपछि मैले आफूलाई सही बाटोमा लागेको अनुभव गरेँ। प्रशिक्षणका क्रममा मैले आफ्नो परिवारमाझ नै बसेको अनुभव गरेँ भने आफूमा प्रशस्त परिवर्तन पनि आाएको अनुभूति गरें।
मोनिषा कर्माचार्य : मोडलिङमा करियर बनाउनु मेरो सपना थियो। साप्ताहिक-जोय पपैया सन ग्ल्याम हन्ट त्यसका लागि राम्रो अवसर हो। मैले यसमा सहभागी भएर दक्षता बढाउने र अनुभव सँगाल्ने अवसर प्राप्त गरे।
आस्मा केसी : साप्ताहिक जोय पपैया ग्ल्याम हन्टमा प्रतिस्पर्धी भएर मैले मोडलिङमा पाइला बढाएकी छु। उत्कृष्ट २४ मा आएर पाएको प्रशिक्षणले आफ्नो क्षमतामा वृद्धि भएको महसुस गरिरहेकी छु।
अनिता चन्द : मोडलका रूपमा करियर शुभारम्भ गर्न साप्ताहिक-जोय पपैया सन ग्ल्याम हन्ट उपयुक्त प्लेटर्फम साबित भएको छ। यो प्रतिस्पर्धाले व्यक्तित्व विकास र आत्मविश्वास बढाउन मद्दत गरेको छ।
प्रकृति गुरुङ : जीवनमा सफलता पाउन एउटा सही प्लेटर्फमको खोजीमा रहेको अवस्थामा यो प्रतिस्पर्धाले मलाई निकै सघाएको छ। हिँडाइ, बोलाइ, शैली आदिको विकास गरी सही अर्थमा व्यक्तित्व विकास गर्न मलाई सिकाएको छ।
ईशा खड्का : मोडलिङमा अवसरको खोजी गर्न साप्ताहिक-जोय पपैया सन ग्ल्यामहन्ट मेरो पहिलो खुड्किलो बनेको छ। नयाँ संगीहरूका साथ र प्रशिक्षकहरूबाट पाएको प्रशिक्षणले मलाई जीवनमा अघि बढ्न सघाउने विश्वास छ।
श्रेया पाण्डे : फेसन जगत्मा पहिलो कदम बढाउन साप्ताहिक-जोय पपैया सन ग्ल्यामहन्ट उपयुक्त प्लेट र्फम हो भनेर म यसमा सहभागी भएँ। यसबाट मैले आफूलाई मित्रता, मार्ग दर्शन र आत्मबलको संगमका रूपमा अघि बढाउने अवसर प्राप्त गरेकी छु।
मोनिका कर्माचार्य : सानैदेखिको मोडलिङमा लाग्ने चाहनालाई साप्ताहिक-जोय पपैया सन ग्ल्यामहन्टले पुरा गरिदिएको छ। प्रशिक्षणका क्रममा समाजका विभिन्न व्यक्तित्वहरूबाट पाएको प्रशिक्षण मेरो जीवनको उत्कृष्ट उपलब्धि हो।
आकांक्षा दाहाल : सानैदेखिको मोडलिङमा करियर बनाउने आफ्नो चाहनालाई मूर्तरूप दिने कार्यको सुरुवात यो प्रतिस्पर्धाबाट भएको मानेकी छु मैले। उभिने, बोल्ने, मुस्कुराउने कलालगायत व्यक्तित्व विकासका लागि यो प्रशिक्षण सहायक भएको छ।
स्मृति दाहाल : शिक्षाका लागि एक रुपैयाँ अभियानका लागि पनि सहायकसिद्ध भएको साप्ताहिक-जोय पपैया सन ग्ल्यामहन्टमा सहभागी भएर मैले मोडलिङमा लाग्न आफू दक्ष हुँदै गएको अनुभव गरेकी छु। स्वस्थ र मित्रवत् प्रतिस्पर्धामा सहभागी हुन प्रशिक्षणले मलाई सकारात्मक सहयोग गरेको छ।
ओमनिका डंगोल : मलाई फेसन र ग्ल्यामर जगत्ले सधैं प्रभावित तुल्याइरहन्थ्यो। यो प्रतिस्पर्धा मेरा लागि त्यो जगत्मा प्रवेश गर्ने पहिलो ढोका भएको छ। कहलिएका व्यक्तित्वहरूबाट पाएको प्रशिक्षणले मलाई जीवनमा अघि बढ्न सघाउने विश्वास लिएकी छु।
रञ्जु ठकुरी : मोडलिङमा लाग्ने पुस्ताका लागि साप्ताहिक-जोय पपैया सन ग्ल्यामहन्ट गतिलो प्लेटर्फम भएकाले म पनि यसमा सहभागी भएकी हुँ। सामाजिक जीवनमा मेरो अध्ययनले गर्न सक्ने सहयोगजस्ता अनेकन विषयमा जानकारी प्राप्त गर्नुका साथै आफूमा आत्मबल बढेको अनुभव पनि भएको छ।
रोजिना श्रेष्ठ : सही समयमा सही निर्णय गर्नुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दै म यो प्रतिस्पर्धामा सहभागी भएकी हुँ। आफ्नो चाहना पूरा गर्न यो प्रतिस्पर्धा सहायक हुनेछ भन्ने लागेको थियो। प्रशिक्षणका क्रममा प्राप्त मैले पाएको सकारात्मक सोचको विकास एवं व्यक्तित्व विकासजस्ता कुराले जीवनमा अघि बढ्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
आस्था जोशी : जित्नका लागि भन्दा पनि केही सिक्नका लागि म यो प्रतिस्पर्धामा सहभागी भएकी हुँ। प्रशिक्षणमा पनि त्यहीअनुरूप धेरै कुरा सिकियो, जसले मेरो व्यक्तित्व विकासमा सहयोगी भूमिका निर्वाह गर्नेछ।
श्वेता शाक्य : आत्मबल बढाउँदै व्यक्तित्व विकास गर्न सक्छु भनेर नै म यो प्रतिस्पर्धामा सहभागी भएकी थिएँ। यसबाट मैले जीवनमा जान्नै पर्ने धेरै कुरा सिकेँ। अहिले मेरो लज्जालु मेरो स्वभावमा निकै परिवर्तन आएको महसुस गरेकी छु।
इनु अधिकारी : लुकेको प्रतिभा उजागर गर्न, वक्तृत्व कला विकास गर्न तथा फेसन एवं मोडलिङमा अवसर सिर्जना गर्न आयोजित साप्ताहिक-जोय पपैया सन ग्ल्यामहन्टले मजस्ता युवतीहरूलाई गुन लगाएको छ। मोडलिङ सुन्दा जति सहज लागेको थियो, प्रशिक्षणका क्रममा यसलाई पेसा बनाउन त्यत्तिकै कठिन भएको महसुस गरेँ।