फेसन शो

सूर्याको फेसनमय नाइट

आधुनिक बेहुलीको छविलाई जीवन्त बनाउँदै बेहुलीजस्तै सजिएका १२ जना मोडल एकपछि अर्को गर्दै र्‍याम्पमा देखा परी ब्राइडल लेहेंगा तथा इन्डो वेस्टर्न फ्युजन शैलीका ब्राइडल पहिरनलाई आकर्षक ढंगले प्रस्तुत गर्छन्। त्यसपछि शो स्टपरका रूपमा अभिनेत्री करिश्मा मानन्धरको उपस्थिति हुन्छ र कार्यक्रमले बिट मार्छ। यो अन्तिम दृश्य थियो गत शनिबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा सम्पन्न एउटा फेसनमय सन्ध्याको। भारतको कहलिएको ब्रान्ड सूर्या साडीजले आफ्नो स्थापना र निरन्तरताको ५४ वर्ष पूरा गरेको अवसरमा नेपाली फेसन बजारमा आफ्नो उपस्थितिलाई अफ प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रमको पहिलो प्रस्तुतिमा विवाह एवं पार्टीहरूका लागि उपयुक्त साडीहरूको प्रस्तुति रह्यो। अभिनेत्री ऋचा शर्माको क्याटवाकबाट प्रारम्भ भएको उक्त प्रस्तुतिमा परम्परागत, परिमार्जित एवं आधुनिक शैली र डिजाइनमा आकर्षक तथा मनमोहक साडीहरू प्रदर्शन गरिए । उक्त प्रस्तुतिको अन्ततिर अभिनेत्री हषिर्का श्रेष्ठले र्‍याम्प नापेकी थिइन्। फेसन साँझको दोस्रो प्रस्तुति भने सूर्या साडीजको नयाँ कलेक्सनअन्तर्गत स्टाइलिस, बोल्ड एवं ट्रेन्डी सुट गाउन एवं  डे्रसहरू प्रदर्शन गरिए।
शालीन, मनमोहक एवं उत्कृष्ट डिजाइन तथा शैलीहरूको प्रस्तुतिका बीच सांगीतिक समूह नटराज तथा साउन्ड अफ स्टि्रमले आफ्नो सांगीतिक खुराक पस्किएको थियो ।
प्रकाशित: श्रावण २३, २०७१