तीन प्रश्न

राजु कमेडी, हास्यकलाकार

स्कुले जीवनदेखि नै स्टेज कार्यक्रममा कमेडी गर्दै दर्शक हँसाउने भएकाले कोसीपारि, काभ्रेका राजु भुजेलले आफ्नो नामको पछाडि नयाँ थर राखे, 'कमेडी'। अभियन क्षेत्रमा करिब १२ वर्ष बिताएका राजु भुजेललाई सहकर्मी कलाकार तथा दर्शकले राजु कमेडीको नामले चिन्छन्। हालसम्म आफ्नो वास्तविक थर कसैलाई नभनेका यी कलाकारले साप्ताहिकमार्फत नै आफ्नो थर सार्वजनिक गर्न लागेको बताए। राजु कमेडीका रूपमा लोकप्रिय हुन पाउँदा उनी दंग छन्। स्कुलमा छँदा विभिन्न राजनैतिक दलका नेता तथा आफ्नै शिक्षकहरूको क्यारिकेचर गरेर स्थानीय स्तर लोकप्रियता हासिल गरेका राजु २०५९ सालमा काठमाडौं आएदेखि निरन्तर अभिनयमा छन्। ललितकला क्याम्पसमा अभिनयलाई नै मुख्य विषय बनाएका राजुले पहिलो पटक रानीपोखरीमा आयोजित महोत्सवमा क्यारिकेचर प्रस्तुत गरेका थिए। त्यसलगत्तै उनले केही नाटक तथा टेलिश्रृंखलामा अभिनय गर्न भ्याए। 'कोभन्दा को कम', 'डर लाग्छ' जस्ता टेलिश्रृंखलामा अभिनय गर्दै अघि बढेका राजुलाई स्थापित गराउने काम हास्यकलाकार प्रकाश ओझाले गरे। ओझाको निर्देशनका दुई हास्यश्रृंखला 'गाई कि त्रिशूल' तथा 'तीते करेली' मा अभिनय गर्न थालेपछि उनी दर्शकको नजरमा परे। मेरी बास्सै र तीतो सत्यमा समेत अभिनय गरिसकेका राजुले केही म्युजिक भिडियो तथा चलचित्रमा समेत अभिनय गरिसकेका छन्। विगत डेढ वर्षदेखि उनी कान्तिपुर टेलिभिजनबाट शुक्रबार राति प्रसारण हुने हास्यश्रृंखला 'डिट्ठा साब' सँग आबद्ध छन्। हास्यकलाकार तथा निर्देशक किशोर भण्डारीले राजुलाई 'डिट्ठा सा'ब' मा महत्वपूर्ण भूमिका दिएका छन्। यो श्रृंखलाको प्रारम्भदेखि हालसम्म 'नारायण बाजे' को भूमिका निर्वाह गरिरहेका राजुलाई 'दैव के देख्नु परो नि मैले' तथा 'म त नारायण बाजे' थेगोले चर्चित बनाएको छ। राजुसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न :

नारायण बाजेको भूमिकाले दर्शक झुक्किएको चर्चा छ नि ?
मेरो वास्तविक उमेर र श्रृंखलाको नारायण बाजेको उमेरमा ४० वर्ष जतिको फरक छ। वास्तविक जीवनमा म नै नारायण बाजे हुँ भन्दा दर्शकले सहजै विश्वास गर्दैनन्। त्यसैले अचेल म फेसबुकमा समेत नारायण बाजे र मेरो वास्तविक तस्बिर सँगसँगै अपलोड गर्छु।
आफू लोकप्रिय भएको अनुभव कहिले गर्नुभयो ?
अचेल दर्शकको प्रतिक्रिया बुझ्ने सबैभन्दा सजिलो माध्यम फेसबुक भएको छ। फेसबुकमा तस्बिर राखेपछि आउने प्रतिक्रिया तथा लाइकका कारण कलाकार कत्तिको लोकप्रिय छ भन्ने कुरा छर्लङ्ग थाहा पाउन सकिन्छ।
भविष्यको योजना के छ ?
लोडसेडिङ घटिरहेको मौका पारेर 'डिट्ठा साब' मा अर्को एउटा चरित्र निर्वाह गर्ने तयार गर्दैछु। त्यसबाहेक जीवनमै पहिलो पटक गाईजात्रा हास्यव्यंग्य महोत्सवमा सहभागिता जनाउने तयारी गरिरहेको छु। भविष्यमा निर्देशनमा समेत आउने योजना छ।
प्रकाशित: श्रावण १६, २०७१