नेपालका स्थापित डिजे हुन् डिजे राजु। उनले सन् १९९४ तिर डिजेइङ यात्रा सुरु गरेका थिए। डिजे राजुले जर्मन, बेल्जियम, फ्रान्स, होल्यान्ड, डेनमार्क, पोर्चुगल, स्पेन, स्विडेन, भारत, हङकङक तथा बेलायतमा समेत आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। उनले सन् २०१२ मा अष्ट्रेलिया टुर पनि गरे। सन् २००१ मा आयोजित डिजे प्रतियोगिता बार अफ डिजेमा उनले पहिलो स्थान हात पारेका थिए। कालीका एफएमले सन् २०१० मा आयोजना गरेको सांगीतिक प्रतिस्पर्धामा पनि उनको रिमिक्स एल्बमले एवार्ड जितेको थियो। हिट्स एफएममा पनि उनको गित विजेता भएको थियो। सन् १९७४ मा काठमाडौंको न्युरोडमा जन्मिएका डिजे राजुलेे आनन्द कुटी विद्याश्रमबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। सन् १९८७ मा वार्थचाइल्ड ब्यान्डमा ड्रम बजाउने क्रममा उनले नेपालका थुप्रै स्थानमा कार्यक्रम प्रस्तुत गरे। ब्यान्डका साथीहरू विदेशतर्फ लागेपछि उनी स्नातक तहको अध्ययन पूरा गर्नतिर लागे। त्यसपछि उनले वार्थचाइल्ड ब्यान्डलाई पुनस्र्थापना गरे। डिजे राजुले सन् १९९२ मा टेकुमा ग्राफिटी नामक बार एन्ड रेस्टुराँ खोले, जहाँ उनी विभिन्न ब्यान्डलाई पर्फम गर्ने अवसर दिन्थे। उक्त बार सन् १९९६ मा बन्द भए पछि डिजे राजु बिदा मनाउन युरोप हिँडे। केही समय पछि काठमाडों फर्केर फेरि डिजेइङ गर्न थाले। त्यसपछि उनले क्लब डाइनेस्टीमा काम गरे। मिस नेपाल प्रतियोगिताका लागि म्युजिक कोरियोग्राफरका रूपमा काम गरिसकेका डिजे राजुले ह्यात रिजेन्सीको रक्स बारमा पनि काम गरे। उनी अहिले बुम इन्टरनेसनलमा डिजेसम्बन्धी तालिम पनि दिन्छन्। लाजिम्पाटमा भुटु रेस्टुराँ सञ्चालन गरिरहेका डिजे राजुलाई www.facebook.com/djrajus मा फेला पार्न सकिन्छ।
प्रकाशित: श्रावण १६, २०७१