फ्रन्टपेज

किलर माउन्टेनमाथि नेपाली चेली

- शिव मुखिया
मलाई आफ्नो ज्यानको पर्वाह छैन, तर म मरिहाले भने छोराछोरीको स्थिति के हुन्छ भन्ने सम्झेर मन गहु्रँगो हुन्छ' यसो भनिरहँदा माया शेर्पाको अनुहार केही उदास देखिन्थ्यो। पाकिस्तान प्रस्थान गर्नुअघि उनी स्वयम् निश्चिन्त थिइनन्, सकुशल र्फकने हो कि होइन भन्नेमा। अन्तत: उनको यो संशय मात्र मेटिएको छैन, मृत्युमाथि उनको जितसमेत दर्ता भएको छ। मायासहितका तीन नेपाली चेलीले पाकिस्तानको केटु हिमालमा विजयको झन्डा फहराएका छन्। विश्वकै दोस्रो अग्लो यो हिमाल, प्राविधिक रूपमा आरोहणका लागि अत्यन्त कठिन भएकाले पनि बढी चुनौतीपूर्ण छ। गत असार २२ गते आइतबारको दिन नेपाली समयअनुसार ३ बजेर ३५ मिनेटमा नेपाली महिलाहरूले 'किलर माउन्टेन' माथि जित दर्ता गराएका हुन्। नेपाली महिलाहरूको समूहले केटु आरोहण गरेको यो पहिलो अवसर हो। त्यसैले यसलाई उनीहरूले 'विश्व कीर्तिमान' भनेका छन्। मायासहित पासाङ ल्हामु र दावा याङजुम आरोहणका लागि गत असार ५ गते पाकिस्तानतर्फ लागेका थिए। उनीहरूले असार ७ गतेमा बेसक्याम्पबाट केटुको यात्रा प्रारम्भ गरेका थिए।
बेसक्याम्पवाट ठाडो उक्लनुपर्दा निकै कठिन भएको आरोहीहरूले बताएका छन्। त्यही बेला रकफलको समेत सामना गर्नुपर्‍यो। यद्यपि चट्टाने पहिरोको चोट सहँदै उनीहरू निरन्तर उक्लिरहें र क्याम्प फोरसम्मको यात्रा तय गरे। त्यतिबेला रातको १० बजेको थियो।
मौसम अनुकूल भएपछि मात्र उनीहरू क्याम्प फोरबाट माथि उक्लिएका थिए, रातको १२ बजे। केटुको चुचुरोमा टेक्दा ३ बजेर ३५ मिनेट गएको थियो। एकदमै थकित अवस्थामा चुचुरो टेकेका उनीहरूले त्यहाँ करिब १० मिनेट बिताएका थिए। 'पिकमा पुगेपछि एकदमै एक्साइटेट भएर तीनै जना रोएको' आरोहीसँग नियमित सम्पर्कमा रहेका टुक्टीले बताए।
'द फस्ट नेप्लिज वुमन केटु एक्सिपिटिसन' अभियानअन्र्तगत उनीहरू जलवायु परिवर्तनको नारा लिएर केटु उक्लिएका हुन्। आरोहणका लागि करिब ६० लाख रुपैयाँ खर्च भएको टुक्टीले बताए। लुक्लामा हुर्किएकी पासाङले यसअघि सगरमाथासहित एक दर्जनभन्दा बढी हिमाल आरोहण गरिसकेकी छिन्। क्लाइम्बिङ इन्स्ट्रक्टरका रूपमा केही वर्ष अमेरिका बसेर फर्किएकी पासाङ व्यावसायिक आरोही हुन्। ओखलढुंगाकी मायासँग सगरमाथा, आमादब्लम, मनास्लु, लाङटाङ, अन्नपूर्ण, पुमरी, चोयु, वरुन्चे आदि हिमाल आरोहणको अनुभव छ। त्यस्तै, दोलाखाकी दावाले सगरमाथासहित आमादव्लम, चोकी गो, यालाजस्ता हिमाल चढिसकेकी छिन्।
सन् १९०२ यता विभिन्न समयमा भएका के-टु आरोहणका प्रयास निरर्थक रहे। ६ दशकअघि एक इटालियन आरोहीले बाटो खोलेपछि अहिलेसम्म २ सय ४६ जना आरोहीले केटुको चुचुरोमा आफ्नो पदचाप छाड्न सफल भएको तथ्यांक छ।
८ हजार ६ सय ११ मिटरको अग्लो केटुको टाकुरा टेक्नुअघि पार गर्नुपर्ने 'डेथ जोन'को भयले आरोहीहरूलाई अत्याउँछ। प्राविधिक भाषामा 'वोटल नेक' भनिने उक्त क्षेत्र एकदमै क्रिटिकल अवस्थामा पार गर्नुपर्ने बताइन्छ। त्यहाँ सगरमाथाको भन्दा १० गुण छिटो मौसम परिवर्तन हुन्छ।
लाङटाङमा देखेको सपना
आरोही होइन, हाई अल्टिच्युट वर्करका रूपमा उनीहरूले धेरै हिम चुचुरो टेकेका छन्। यही तीतो यथार्थलाई चिर्न पनि नेपाली महिलाहरूले के-टु चढ्ने निधो गरेका थिए।
एकताका माया र पासाङ एउटै आरोहण दलबाट लाङटाङ पुगेका थिए। ख्यालख्यालमै उनीहरूले के-टु चढ्ने योजना बुने। पछि, अमेरिकामा भएको भेटमा पनि दुवैले रातभर यही विषयमा छलफल गरे। तेस्रो सहयात्रीका रूपमा दावा पनि जोडिएपछि उनीहरूको टिमले पूर्णता पायो र केटुको यात्रा तय भयो।
 
प्रकाशित: श्रावण १६, २०७१