प्रविधि
स्मार्टफोन बजारमा अमेजनको प्रवेश
फायरको स्क्रिन एचडी रिजोल्युसनयुक्त छ। यसमा २ दशमलव २ गिगाहर्जको प्रोसेसर, २ जिबी र्याम, अप्टिकल इमेज स्ट्याबिलाइजेसनका साथ १३ मेगापिक्सेलको क्यामेरा, क्यामेरा बटन तथा स्टेरियो स्पिकर छ। उक्त मोबाइल सेटमा तस्बिरका लागि फ्री अनलिमिटेड क्लाउड स्टोरेज उपलब्ध छ भने १० लाख गीतमा फ्री एक्सेस सुविधा छ। यसमा फायरफ्लाई नामक नयाँ प्रविधि छ, जसका लागि अलग्गै बटन राखिएको छ। उक्त प्रविधिले कार्ड, इमेल, फोन नम्बर, वेब एड्रेस, बार कोड आदि तुरुन्तै पढ्न सक्छ।
यसमा भएको एप प्रयोग गरेर प्रयोगकर्ताले कसैलाई कुनै पुस्तक पढ्न वा सुन्न अनुरोध गर्न सक्छन्। अमेजनको प्राइम भिडियो तथा प्राइम म्युजिक सपोर्टेड सुविधा भएको उक्त स्मार्टफोनमा मे डे नामक एउटा सुविधा छ, जसको माध्यमले ग्राहकले यसको ग्राहक सेवा केन्द्रमा सीधै सम्पर्क गर्न सक्छन्। हाल अमेरिकामा मात्र बिक्रीका लागि उपलब्ध फायर स्मार्टफोन दुई मोडलमा उपलब्ध छ। ३२ जिबी भर्सनको मूल्य १ सय ९९ डलर र ६४ जिबी भर्सनको मूल्य २ सय ९९ डलर छ।
स्मार्टफोनको बजारमा अहिले धेरै कम्पनीका उत्पादन भए पनि एप्पलको आइफोन र सामसुङको ग्यालेक्सी सिरिज बढी लोकप्रिय छन्। अमेजनको फायर फोनले ती दुवै कम्पनीका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। के फायर फोन यो प्रतिस्पर्धामा दर्हो उत्रिएला ? यो प्रश्नको जवाफ आगामी दिनले बताउनेछ।