खेलकुद

सामाजिक सञ्जाल र प्रविधिमा विश्वकप

- एकराज सुवेदी
फुटबलको महाकुम्भ विश्वकप चलिरहेको छ। अधिकांश खेल नेपाली समयअनुसार राति परे पनि धेरै खेलप्रेमीले खेल छुटाएको पाइँदैन। उनीहरू खेलको प्रत्यक्ष प्रसारण हेर्न टेलिभिजनमा झुन्डिएका हुन्छन्, तर कहिलेकाहीं टेलिभिजन भएन अथवा उठ्न जाँगर चलेन भने ? यसका लागि मोबाइल नै पर्याप्त छ। फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत विश्वकपका बारेमा सबै जानकारी प्राप्त गर्न सकिन्छ। त्यसबाहेक विभिन्न अनलाइन न्युज पोर्टलले पनि लाइभ जानकारी दिइरहेका छन्।
नेपालमा कतिपय कम्पनी वा संस्थाले फुटबलका विषयमा आधिकारिक जानकारी दिन फेसबुक एकाउन्ट नै प्रयोग गरेका छन्। मोबाइल सेवाप्रदायक संस्था नेपाल टेलिकमले नै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा यस्तो व्यवस्था गरेको छ। उक्त एकाउन्टमार्फत खेलको पलपलको जानकारी लिन सकिन्छ। त्यसबाहेक त्यहाँ सोधिएका विभिन्न प्रश्नको उत्तर दिएर उपहार जित्न सकिन्छ भने विभिन्न जानकारी पनि लिन सकिन्छ।
शिवम सिमेन्टले पनि यस्तै एकाउन्ट निर्माण गरेको छ। शिवम सिमेन्टले विश्वकप प्रारम्भ हुनुअघिदेखि नै 'फिफा प्रेडिक्ट एन्ड विन कन्टेस्ट' सञ्चालन गरिरहेको छ जहाँ विभिन्न प्रश्नको सही उत्तर दिने सहभागीलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।
यी दुई केही उदाहरण मात्र हुन्। फेसबुक वा ट्वीटरजस्ता सामाजिक सञ्जाल आफैंले पनि यस्ता विभिन्न जानकारी दिइरहेका छन्। फेसबुकका १ अर्ब २८ करोड प्रयोगकर्तामध्ये करिब ४० प्रतिशत फुटबल फ्यान छन्। सन् २०१० मा अफ्रिकाको जोहानेसबर्गमा विश्वकप हुँदा फेसबुकका प्रयोगकर्ता ५० करोड मात्र थिए। अहिले कुनै एउटा फुटबल टिमलाई नै फेसबुकमा लाइक गर्नेहरूको संख्या यति पुगिसकेको छ।
फेसबुक प्रयोगकर्ताले खेल अवधिभर 'ट्रेन्डिङ वल्र्ड कप' नामक स्पेसल वल्र्ड कप सेक्सनमार्फत आफूलाई मन पर्ने टिम र खेलाडीलाई ट्रयाक गर्न सक्छन्। वेब र मोबाइल डिभाइस दुवैमा उपलब्ध उक्त हबमार्फत पछिल्लो स्कोर, गेम हाइलाइट तथा खेलसँग सम्बद्ध विभिन्न फ्रेन्ड, प्लेयर तथा टिमका पोस्ट पनि हेर्न सकिन्छ। त्यसबाहेक इन्टर्‍याक्टिभ म्यापको सहयोगले टप खेलाडीका प्रशंसकहरू संसारको कुन-कुन स्थानमा छन् भन्ने जानकारी पनि लिन सकिन्छ। फेसबुकले फेसबुकरेफ नामक पेज पनि लन्च गरेको छ। उक्त पेजमा फ्यानहरूले फेसबुकको अफिसियल कमेन्टेटरले खेलका बारेमा गरेको टिप्पणी पढ्न सक्छन्।  
ट्वीटरले पनि सबै ६४ खेलका बारेमा रियल टाइम ट्रयाक गर्ने सुविधा दिएको छ। विभिन्न टिम र खेलाडीलाई फलो गर्न ट्वीटरको आधिकारिक वल्र्डकप ह्यासफ्ल्याग प्रयोग गर्न सकिनेछ भने अफिसियल एकाउन्टका लागि फिफावल्र्डकप र विभिन्न टिमका पनि यस्तै फरक एकाउन्ट फलो गर्न सकिनेछ। ट्वीटरले सन् २०१० को विश्वकपमा प्रारम्भ गरेको ह्यासफ्ल्याग अहिले पनि सञ्चालनमा छ। ह्यासफ्ल्याग भनेको ट्वीटरमा विश्वकप खेल्ने देशको छोटो रूप अर्थात् ३ वटा अक्षरमा ह्यासट्याग राखेपछि देखिने दृश्य हो। यी तीन अक्षर राखेपछि ट्वीटर वेब तथा मोबाइलमा उक्त देशको झन्डा देखापर्छ, जसले गर्दा ट्वीटर पनि रंगीचंगी देखिन्छ। ह्यासट्याग राख्दा देशको झन्डा देखिनु नै ह्यासफ्ल्याग हो। त्यसैगरी वल्र्डकप र वल्र्डकप २०१४ लाई वल्र्डकप टाइमलाइनका रूपमा प्रयोग गरिएको छ। यी ह्यासट्यागहरू राखेर गरिएको टि्वट उक्त पेजमा देखिन्छन्, जसबाट खेलको रियल टाइम अपडेट प्राप्त गर्न सकिन्छ। आफुले पनि त्यही ह्यासट्यागमा टि्वट गर्न सकिन्छ।
प्रकाशित: असार ६, २०७१