सानो पर्दा

बान्द्रे पनि निर्देशक

हास्य श्रृंखला 'मेरी बास्सै' मा 'बान्द्रे' को भूमिका निर्वाह गर्ने सुरज चापागाईर्ं अब निर्देशक हुने भएका छन्। केही टेलिश्रृंखला तथा म्युजिक भिडियोको निर्देशन गरिसकेका बान्द्रेले पहिलो पटक चलचित्रको निर्देशन गर्न लागेका हुन्। उनले निर्देशन गर्ने चलचित्र 'मेरो स्कुल' को छायांकन असारको पहिलो सातातिर प्रारम्भ हुँदैछ। चलचित्रमा बान्द्रेसहित सूरवीर पण्डित, सरिता वली, राजेश नाथ तथा विनोद श्रेष्ठ महत्वपूर्ण भूमिका रहनेछ। बान्द्रेले यसअघि 'सिस्नु पानी', 'लोडसेडिङ', 'सेरेको सुर', 'गाडी न.ं ४२०' जस्ता टेलिश्रृंखला निर्देशन गरिसकेका छन्।
एनटिभी प्लसमा पोखरा आइडल
पोखरामा सञ्चालन भैरहेको गायन रियालिटी शो 'कास्की आईडल-२०७१' को प्रसारण एनटिभी प्लसबाट भैरहेको  छ। प्रत्येक बिहीबार राति १० बजे प्रसारण हुने उक्त कार्यक्रमका संयोजक राजन कार्कीका अनुसार कास्की आइडलमा कास्की जिल्लामा बसोबास गर्ने युवा-युवतीहरूले भाग लिइरहेका छन्। प्रतियोगिताको पहिलो चरणका लागि अडिसनबाट १ सय २ जना प्रतियोगी छनौट भएका थिए। १ सय २ जनाबीचको प्रतियोगिताबाट यतिबेला ५१ प्रतिस्पर्धी अघिल्लो चरणमा पुगेका छन्। सपना श्रेष्ठले सञ्चालन गर्ने यो कार्यक्रममा गायन प्रतिभा प्रदर्शनका आधारमा प्रत्येक साता उत्कृष्ट हुने प्रतियोगी अघिल्लो चरणमा प्रवेश गर्छन्।
सहरको दोस्रो संस्करण
फलानो क्रिएसनले निर्माण गरेको टेलिचलचित्र 'सहर' को दोस्रो संस्करण पनि निर्माण हुने भएको छ। 'सहर' को पहिलो संस्करण गत जेठ ३१ गतेदेखि प्रसारणमा आएको छ, जुन पोखराको गण्डकी टेलिभिजनमार्फत हरेक शनिबार राति ९ः४५ बजे साप्ताहिक रूपमा आगामी छ महिनासम्म जारी रहनेछ। 'सहर' का लेखक तथा निर्देशक अपिल त्रिपाठीले दोस्रो संस्करण निर्माण गर्ने औपचारिक घोषणा गरेका हुन्। सहरका सामान्य मानिसहरूको कथा भन्ने 'सहर' को प्रस्तुतिमा दर्शकले स्थानीयता पाउने निर्माण पक्षको दाबी छ।
प्रकाशित: असार ६, २०७१