अनुभव

धोका - मनोज पण्डित, निर्देशक

नेपालमा हिन्दी चलचित्रको छायांकन हुने कुरा थियो। त्यसका लागि केही नेपाली कलाकार चाहिएको रहेछ। मैले वीरगन्जमा लिइएको अडिसनमा भाग लिएँ, पास पनि भइयो। त्यसपछि उनीहरू मेरो घरसमेत हेर्न आए। सुटिङका लागि विहारको हात्तीपुर बोलाइयो। बडो उत्साहसाथ म त्यहाँ पुगें तर, मेरो त्यो उत्साह धेरैबेर टिकेन। कारण, उनीहरूले मबाट राम्रै पैसाको अपेक्षा गरेका रहेछन्। 'अडिसन पास भएर आएको हुँ, पैसा हाल्न सक्दिन' भनेपछि उनीहरूले मलाई त्यसभन्दा अघि बढ्न दिएनन्। यसले मेरो किशोरमनमा नराम्रोसँग ठेस पुग्यो। अन्ततः नेपालमै चलचित्र क्षेत्रमा केही गर्ने अठोट लिएर फर्किएँ।
मैले केही समय चलचित्रसम्बन्धी अध्ययन गरें। २२ वर्षको अल्लारे जोसमै चलचित्र बनाउन तम्सिएँ। 'लक्ष्य' नामक त्यो चलचित्रमा मेरो र हरेन्द्र लिम्बुको लगानी थियो। धेरै मेहनत गरेर परम्परागतभन्दा फरक किसिमको चलचित्र बनाइयो। त्यसैले राम्रै प्रतिक्रिया पाउने अपेक्षा थियो।
एकदिन व्यक्तिगत कामको सिलसिलामा जमल हँुदै कतै गैरहेको थिएँ। विश्वज्योति हलको भित्तामा मेरै चलचित्रको पोस्टर टाँसिएको रहेछ। एकसाथ आश्चर्य र दुःख लाग्यो। किनभने डेढ वर्षभन्दा बढी श्रम र सीप खर्चिएर बनाएको आफ्नै चलचित्रको प्रदर्शनका सम्बन्धमा मलाई कुनै जानकारी  थिएन। मःम बिक्री गरिए झै एकदमै 'सस्तो' हिसाबले चलचित्र प्रदर्शनमा ल्याइएको थियो। यसरी मैले आफ्नो करियरका दौरान दुईपटक नराम्रोसँग झड्का खानुपर्‍यो।
 
प्रकाशित: असार ६, २०७१