मोडलिङ
मोडलको स्रोत
मोडलिङ एजेन्सीहरू
राजधानीका कहलिएका मोडलिङ एजेन्सीमध्येको यो एजेन्सीका एक्लो सञ्चालक एवं व्यवस्थापक हुन्— विजय श्रेष्ठ। वि.सं. २०६० साल वैशाख २ गते प्रारम्भ भएको यो एजेन्सीले आफ्नो सञ्चालनको एक दशक मोडलिङको विकासमा खर्चिसकेको छ। डि्रम्स अनलिमिटेडले के गर्छ भन्ने प्रश्नको उत्तरमा श्रेष्ठ भन्छन्, 'डि्रम्सले मोडल खोज्छ, मोडल बनाउँछ, ग्रुमिङ गर्छ र मोडलिङमा प्रमोट गर्छ। नाम, दाम र काम आर्जनका लागि।' डि्रम्सले मोडल बन्न चाहने र मोडल बनिसकेकाहरूका लागि प्रोफेसनल र प्रमोसनल दुई तरिकाले काम गर्ने श्रेष्ठको कथन छ।
श्रेष्ठका अनुसार प्रोमसनल भन्नाले विभिन्न म्यागजिन, वेबसाइटहरूमा मोडलका अन्तर्वार्तादेखि फोटोसुट गरेर फोटो फिचर गर्ने कार्य तथा प्रोफेसनल भन्नाले मोडलिङको कुनै पनि विधाका लागि व्यावसायिक रूपमा काम खोज्ने र काम गराउने हो, जसका लागि डि्रम्सले काम र प्रोजेक्टको प्रकृति हेरेर २५ देखि ४० प्रतिशत रकम एजेन्सी शुल्कका रूपमा लिने श्रेष्ठ बताउँछन्।
पुतलीसडकस्थित अर्को स्थान जहाँ प्रायः मोडल बन्ने सपना पालेका युवायुवतीहरूको सपनाले वास्तविक आकार ग्रहण गरिरहेको देख्न पाइन्छ। फेसन शोको रनवेमा ठाँटिएर हिंड्ने तरिका होस् वा फोटोसेसनका लागि आकर्षक पोज दिने शैली, ब्युटी, फिटनेस, फेसनका अनेकन् पक्षसितको साक्षात्कार हुँदै आफूमा मोडलको छविलाई विकास गरिरहेको दृश्य यो स्थानको दैनिकीजस्तै हो। यो त्यही स्थल हो जहाँबाट कला सुब्बा, पूजा लामा, सिजन भट्टचन, ऋचा शर्मा, विनिता बराल, विमलेश अधिकारी, विनय श्रेष्ठ, दिक्पाल कार्की, निराजन थापा, नरेन खड्का आदि दर्जनौं परिचित नाम जन्मिए, हुर्किए र बढे। कु्रा नेपालकै सबैभन्दा जेठो र पुरानो मोडलिङ एजेन्सी, द र्याम्प मोडलिङ एजेन्सीको हो। सन् १९९६ ताका मोती कला देवान र कुश्मा लिम्बूको संयुक्त प्रयासबाट स्थापना भै हालसम्म पनि निरन्तर मोडल उत्पादन, संयोजन र सञ्चालनमा रहेको यो एजेन्सीमा पहिले अमेरिकाबाट कोरियोग्राफी सिकेर आएका विजय निरौलाले नेपाली युवायुवतीलाई मोडलका रूपमा ग्रुम गरेका थिए। त्यही समयमा मोडलका रूपमा अघि बढेकी जयन सुब्बा मानन्धरले आज द र्याम्पको कार्यभार सम्हालेकी छिन्।
सुब्बाका अनुसार द र्याम्पले मोडल एजेन्सीका रूपमा मोडलिङ प्रयोजनका लागि मोडल व्यवस्थापन र संयोजन मात्र नभै व्यावसायिक मोडलिङको आधारभूत तालिम पनि दिने गरेको छ। अतः द र्याम्पमा आफ्नै प्रशिक्षण र ग्रुमिङ विधिबाट उत्पादन भएका मोडलहरू उपलब्ध त छन् नै, यसले अन्य संस्थाबाट प्रशिक्षण लिएका वा मोडलका रूपमा कार्यरतहरूलाई पनि द र्याम्पमा दर्ता गर्ने गरेको छ। यसरी दर्ता हुन ४ हजार शुल्क तिर्नुपर्छ। द र्याम्पमै मोडलिङसम्बन्धी प्रशिक्षण लागि रु. ७ हजार ५ सय शुल्क बुझाउनुपर्छ। द र्याम्पको मोडलिङसम्बन्धी प्रशिक्षणमा रनवे मोडलिङका आधारभूत कुरा, फोटोसुट, पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट, पोर्टफोलियो मेकिङ, ब्युटी, फेसन, फिटनेससम्बन्धी जानकारी आदि कुरा समेटिएको छ। द र्याम्पले क्लाइन्टको आवश्यकताअनुसार सेलिब्रेटीहरूको समेत संयोजन र व्यवस्थापन गर्ने द र्याम्पकी प्रमुख कार्यकारी अधिकृत जयन सुब्बा मानन्धरले जानकारी दिइन्। सुब्बाका अनुसार मोडलिङसम्बन्धी कुनै पनि काम लागि द र्याम्पले मोडलबाट २५ प्रतिशत सेवा-शुल्क लिने गरेको छ।
अन्तर्राष्ट्रिय परिवेशमा मोडलिङको जुनसुकै विधा चाहे त्यो रनवे होस् वा कमर्सिर्यल, नवप्रवेशीदेखि अनुभवी तथा सुपर मोडलको दर्जा पाइसकेकाहरूसमेत संस्थागत रूपमा कुनै न कुनै मोडलिङ एजेन्सीसित आबद्ध हुने ट्रेन्ड छ। फेसन मोडल्सको व्यावसायिक जीवनको सूत्रधारका रूपमा मोडलिङ एजेन्सीले जिम्मेवारी निर्वाह गर्ने गरेको पाइन्छ। मोडलिङ एजेन्सीले यो क्षेत्रमा आफ्नो करियर बनाउन चाहनेहरूको रुचि, अवस्था र सक्षमतालाई ध्यानमा राखेर उनीहरूलाई ग्रुमिङ गराउँछ, जसअन्तर्गत मोडल ट्रेनिङ, टेस्ट सुट, पोर्टफोलियो बनाउने, मेकअप, हेयर तथा फिटनेसमा अभ्यस्त बनाउने आदि कार्य गरेर युवाहरूलाई मोडलिङ करियरका लागि तयार गर्छ। उनीहरूको दक्षता, क्षमता, व्यक्तित्व एवं रुचिअनुरूप मोडलिङअन्तर्गतको कामका लागि मार्केटिङ गरेर उनीहरूको व्यावसायिक जीवनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, मोडलिङ एजेन्सीले। त्यसबापत बदलामा एजेन्सीले मोडलको प्रोजेक्टबाट केही प्रतिशत रकम एजेन्ट शुल्क वा कमिसनका रूपमा लिन्छ।
द र्याम्प मोडलिङ एजेन्सी, डि्रम्स अनलिमिटेड नेपाली मोडलिङमा कार्यरत अनेकन् मोडलिङ एजेन्सीको प्रतिनिधि नाम हो। यो परिवेशमा बिगुल एक्स्पो, द टिम मोडल्स इन्क, काष्ठमण्डप मोडल्स इन्क, फेसन लिंक मोडल बैंकजस्ता एजेन्सीहरू पनि कुनै समय सक्रिय थिए, तर अहिले उनीहरूको अस्तित्व देखिँदैन। पछिल्लो अवस्थामा आफ्नो समयका कहलिएका मोडलहरू सिजन भट्टचन, आयुशी शाह र लक्ष्मी बस्नेतले पनि मोडलिङ एजेन्सी सञ्चालनमा ल्याएका छन्। भट्टचनले ट्रू फेसेस ट्यालेन्ट म्यानेजमेन्ट, शाहले इनोभेटिभ इन्टरटेनमेन्ट, बस्नेतले एल एन्ड एस मोडल म्यानेजमेन्ट नामक एजेन्सी सञ्चालनमा ल्याएका हुन्। यी तीनवटै एजेन्सीले मोडल व्यवस्थापन, संयोजन तथा उत्पादन एवं प्रशिक्षणको कार्यलाई अघि बढाएका छन्। पछिल्लो समयमा देखा परेका एजेन्सीहरूले मोडलिङका आधारभूत तालिमका साथै अभिनय तथा नृत्यको प्रशिक्षणलाई पनि आफ्नो ट्रेनिङ प्याकेजमा समावेश गरेको पाइन्छ। यसबाहेक राजधानीमा अहिले ट्रेन्ड्स एड्भर्टाइजिङ एन्ड मार्केटिङ कन्सल्टेन्ट्स, नेक्स्ट मोडल म्यानेज्मेन्ट, सिएनएन फेसन टच, बेटर ग्यालेक्सीजस्ता एजेन्सीहरू पनि सञ्चालनमा छन्। केही वेबसाइट जस्तै साइबर संसार डटकम, ग्ल्यामर नेपाल डटकम, काठमाडौं क्रेज डटकम, एम फेसननिस्टा डटकम आदि अनलाइन मोडलिङ एजेन्सीका रूपमा सक्रिय छन्।