यौन मनोविज्ञान
यो यौनसम्बन्धी समस्या हो वा अरू केही ?
बी.
तपाईं आफैंले यौनपछि विभिन्न किसिमको लक्षण देखेको र यो यौनसम्बन्धी समस्या हो भनी पहिचान गर्नुभएको छ। यस्तो समस्या आफ्नै वीर्यको एलर्जीका कारण हुनसक्छ अर्थात् तपाईंको वीर्यको एलर्जी नै तपाईंको समस्याको कारण हो। चिकित्सकीय भाषामा यसलाई सेमिनल प्लाज्मा हाइपर सेनसिटिभिटी भनिन्छ। यस्तो समस्या सयमा एक जनालाई हुन सक्छ। अझ विस्तारमा भन्नुपर्दा यो समस्या वीर्यमा हुने प्रोटिनको कारणले हुन्छ। त्यसैबाट पुरुष आफैंलाई पनि यसको एलर्जी हुन्छ, जसलाई पोस्ट अग्राज्मिक इल्नेस सिन्ड्रोम (पीओआईएस) भनिन्छ। यसको असर केही सेकेन्डदेखि लिएर एक हप्तासम्म रहन सक्छ। यसको मुख्य लक्षण वीर्य परेको छालामा रातो हुने, चिलाउने, पोल्ने, श्वासप्रश्वासमा गार्हो हुने, थकाइ लाग्ने, तातो हुने, चिडचिडाहट हुने, रुघा लाग्ने तथा टाउको दुख्ने आदि हो। कहिलेकाहीं यस्ता लक्षणमा यौनरोग हो कि भनेर गलत औषधि प्रयोग भैरहेको हुनसक्छ।
वैज्ञानिकहरूका अनुसार यस्तो एलर्जी आफ्नो यौनसाथी वा उसको शरीरको तरल पदार्थका कारणले होइन आफ्नै वीर्यका कारणले भएको हो। पीओआईएस हस्थमैथुन गर्दा पनि हुनसक्छ, तर यदि हस्थमैथुन गर्दा वा यौन सम्पर्क गर्दा स्खलन भएन भने यो समस्या देखिँदैन। हालै ४५ जना पुरुषबीच यही विषयमा अनुसन्धान गरिएको थियो, जसअनुसार आधामा यौनसम्बन्ध राखेको पहिलो पटक देखि नै यस्तो समस्या सुरु भएको भन्ने तथ्य पाइयो भने आधाले पछि मात्र सुरु भएको बताएका छन्। वीर्यको एलर्जी महिलामा पनि हुन्छ भन्ने तथ्य धेरै पहिले नै पत्ता लागेको हो, तर पुरुषमा पनि वीर्यको एलर्जी हुन्छ भन्ने तथ्य चाहिँ केही समय यता मात्र थाहा भएको हो।
यो समस्या पत्ता नलाग्दा कतिपय पुरुषले सामाजिक तथा मनोवैज्ञानिक समस्याहरू बाट गुजि्रनुपरेको छ। कतिपयलाई यो यौनरोग हो भन्ने थाहा हुँदैन। यस्तो स्थितिमा कतिपयहरूले टाउको दुख्ने रोगको उपचार गराइरहेका हुन्छन्। त्यसले समय र पैसा बर्वाद भैरहेको हुनसक्छ। केही पुरुषले यसबाट बच्न ब्रह्मचर्य पनि पालना गर्छन्। यसले समस्या समाधान हुँदैन, किनभने यदि स्वप्नदोष भए त्यतिबेला पनि यस्ता लक्षण देखापर्छन्।
यसो भन्दैमा यसको उपचार छैन भन्ने होइन। तपाईंले रोग पत्ता लगाइसक्नुभएकाले यसको उपचार सरल छ। यो रोगको सबैभन्दा सरल उपचार भनेको कन्डमको नियमित प्रयोग हो। तपाईंको वीर्य आफ्नो शरीरको अङ्गमा परेन भने कुनै समस्या हुँदैन। विवाहित मानिसले सन्तान जन्माउनुपर्ने हुनाले सधैं कन्डम प्रयोग गर्न सकिँदैन। यसको सबैभन्दा महत्त्वपूर्ण उपचार इमुनोथेरापी हो। यो उपचार विधिले तपाईंको समस्या ६० देखि ९० प्रतिसत सम्म कम गर्छ। यो मनोवैज्ञानिक समस्या हो भन्ने कुरामा ढुक्क हुनुहोस्। यसबाट पारपाउन चिकित्सकीयभन्दा मनावैज्ञानिक तवरले समाधान खोज्नुपर्छ।
तपाईंको प्रश्न पढ्दा तपाईंकी श्रीमती निकै समझदार हुनुहुन्छ भन्ने बुझिन्छ। यस्तो समझदारी तपाईंको दाम्पत्य जीवनका लागि महत्त्वपूर्ण हुन्छ। अब माथि उल्लेख गरिएअनुसार छिट्टै चिकित्सकसँग सम्पर्क गरी उपचार थाल्नुपर्ने हुन्छ। यदि तपाईं यो समस्याका कारण समाजिक वा मनोवैज्ञानिक रूपमा अप्ठ्यारोमा पर्नुभएको छ भने परामर्शका लागि मनोविद्सँग सम्पर्क गर्नुहोस्।