फिल्मी खबर
प्लस टुमा केकी
हँसियाको प्रेसमिट
जेठ ९ गतेदेखि प्रदर्शन हुने चलचित्र 'हँसिया' ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै हालै लन्डनमा सम्पन्न चलचित्रको रेड कार्पेट प्रिमियरका बारेमा जानकारी गराएको छ। प्रिमियरमा चलचित्रका नायक राजेश हमाल तथा निर्देशक मिलन चाम्स सहभागि थिए। दुर्गा घलेद्वारा निर्मित यो चलचित्रमा राजेश हमालसहित हेमा श्रेष्ठ, अनुप विक्रम शाही आदि कलाकारले अभिनय गरेका छन्।
अर्को साता पीपल
जेठ २ गते प्रदर्शन हुने चलचित्र 'पीपल' ले पत्रकार सम्मेलनमार्फत आफ्ना कलाकार तथा प्राविधिकहरूलाई सञ्चारकर्मीसँग साक्षात्कार गराएको छ। सोमबार आयोजित कार्यक्रममा नायिका अरुणिमा लम्सालले आमा बनेपछि कमब्याक गरेको यो चलचित्रमा आफ्नो भूमिका प्रभावकारी रहेको बताइन्। चलचित्रमा किशोर खतिवडा, सुष्मा अधिकारी, अमिरसिंह ठकुरी, ध्रुव कोइराला, रजवल सिलवाल आदि कलाकारले अभिनय गरेका छन्। पश्चिम नेपालमा छायांकन गरिएको यो चलचित्रका निर्देशक निरञ्जन कसजु हुन्।
घाइते भए सुरज
चलचित्र 'जंगे' को छायांकनका क्रममा नायक सुरजसिंह ठकुरी घाइते भएका छन्। द्वन्द्वको एउटा दृश्यमा सुरजको खुट्टामा चोट लागेको बताइन्छ। मुख्य नायक घाइते भएपछि उनको उपचार पूरा नहुन्जेलका लागि चलचित्रको छायांकन रोकिएको छ। निर्माता सुशन प्रजापतिका अनुसार सुरजको एउटा खुट्टाको भित्री मासु च्यातिएको छ भने अर्को खुट्टाको भित्री हड्डीमा चोट लागेका कारण चिकित्सकले करिब एक महिना आराम गर्ने सल्लाह दिएका छन्। सुरज वीरगन्जमा भैरहेको छायांकनका क्रममा घाइते भएका हुन्।
सिसाको प्रदर्शन मिति
निर्देशक शरद खत्रीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र 'सिसा' साउन २३ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेका छन्। काठमाडौं तथा सिक्किममा छायांकन गरिएको 'सिसा' मा जीवन लुइँटेल, शर्मिला मल्ल, शान्ति गिरी, उमा बेबी, रागिनी खड्गी, निर्मल सेन्चुरी, दिपेश भण्डारी, बी.एस. राणा आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रमा भारतीय फुटबलर भाइचुङ भुटिया विशेष भूमिकमा प्रस्तुत हुँदैछन्।
फर्किए भूषण दाहाल
चलचित्र 'कागबेनी' पछि चलचित्र निर्देशनमा नदेखिएका टेलिभिजनकर्मी भूषण दाहाल चलचित्र 'रेड मनसुन' मार्फत फर्किएका छन्। दाहालले यो चलचित्रको ओरिजिनल साउन्ड ट्रयाक (ओएसटी) निर्देशन गरेका हुन्। लोपोन्मुख नेपाली बाजा अरबाजोलाई प्रयोग गरेर निर्माण गरिएको उक्त गीत यसै साता सार्वजनिक भएको छ।
अफ्रिकी महोत्सवमा नेपाली चलचित्र
नेपाल-अफ्रिका चलचित्र महोत्सवको चौथो संस्करणमा दुई नेपाली चलचित्र पनि प्रदर्शन हुने भएका छन्। जेठ ६ गतेदेखि ८ गतेसम्म काठमाडौंको रुसी सांस्कृतिक केन्द्रमा सम्पन्न हुने महोत्सवमा डब्बु क्षेत्रीद्वारा निर्देशित चलचित्र 'राहदानी' तथा समन अधिकारी निर्देशित 'हिउँ चितुवा' प्रदर्शन हुन लागेका हुन्। महोत्सवमा सेनेगल, युगान्डा, घाना, नाइजेरिया, मोरक्को तथा दक्षिण अफ्रिकाका चलचित्र प्रदर्शन हुनेछन्।