राजेन्द्रको अग्लो ज्यान
राजेन्द्रका २ छोरा र २ छोरी छन्। किशोरावस्थाका २ छोरा पनि करिब ६ फिट अग्ला भैसके। छोरीहरूको उचाइ पनि त्यही अनुपातमा बढ्दै गएको छ। उनकी श्रीमती प्रभा भने साढे ५ फिट अग्ली छिन्। बुवा ललन पनि ६ फिट अग्ला छन्। पटेल परिवारनै गाउँमा अग्लाहरूको परिवारका रूपमा चर्चित छ।
उनको ज्यानलाई सुहाउने रेडिमेड कपडा किन्न पनि पाइँदैन। जुत्ता-चप्पलको समस्या पनि उत्ति नै छ। पटेललाई ९ नम्बरको जुत्ता-चप्पल चाहिन्छ। ८ नम्बरभन्दा माथिको चप्पल नबनाइने भएकाले उनले सधैं पैतालाभन्दा १ नम्बर छोटै चप्पल लगाउनुपरेको छ। जुत्ता भने अर्डर दिएर बनाउने गरेका छन्। ७ कक्षा पढ्दासम्म पनि उनको उचाइ सामान्य मानिससरह करिब ५ फिट नै थियो। त्यसपछि अस्वाभाविक रूपमा उचाइ बढ्दै गएको पटेलले बताए। नेपालकै अग्ला राजन अधिकारी हुन् भन्ने कुरा भने उनलाई हेक्का छ। 'राजन देशकै अग्ला व्यक्ति हुन् भन्ने सुनेको छु,' राजेन्द्र भन्छन्, 'तर मभन्दा कति अग्ला छन् त्योचाहिँ थाहा छैन, एक पटक उनलाई भेट्ने इच्छाचाहिँ छ।'