म्युजिक अपडेट

धर्को

चित्रकारितामा स्थापित भैसकेका दीपक गौतमले गाएका आधुनिक गीतहरूको नयाँ एल्बम 'धर्को' लाई कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सार्वजनिक गरेका छन्। गत सोमबार कान्तिपुर परिसरमा सम्पन्न विमोचन समारोहमा कान्तिपुर पब्लिकेसन्समै इलुस्ट्रेटरका रूपमा कार्यरत गौतमको उक्त एल्बम सार्वजनिक गरिएको हो। एल्बममा अर्जुन पोखरेल, बाबु बोगटी तथा राम सिटौलाद्वारा संगीतबद्ध तीनवटा गीत समावेश छन्। एल्बममा समाविष्ट एक गीतको म्युजिक भिडियो निर्देशन विदुर खतिवडाले गरेका छन् । विमोचन समारोहमा साप्ताहिकका प्रधानसम्पादक सुवास ढकालले एल्बमको सफलताको कामना गरेका थिए।
पल पल
संगीतकार टीका भण्डारीद्वारा संगीतबद्ध आधुनिक गीतहरूको नयाँ एल्बम 'पल पल' को विमोचन एमाले नेता माधवकुमार नेपालले काठमाडौंमा गरेका छन्। उक्त एल्बममा सूर्य खत्री घायलको एकल शब्दमा प्रमोद खरेल, स्वरूपराज आचार्य, दीपक लिम्बू, अञ्जु पन्त, शिव परियार आदिको स्वर सुन्न सकिन्छ।
तस्बिर
पण्डित इन्दु प्रकाश त्रिवेदी तथा गायिका उर्मिला महतले गाएका गीतहरूको नयाँ एल्बम 'तस्बिर' लाई राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा भारतीय राजदूत रञ्जित रायले सोमबार काठमाडौंमा सार्वजनिक गरे। समारोहमा त्रिवेदी तथा महतले गीत संगीतसमेत प्रस्तुत गरेका थिए। 'सुरमाण्डु' शीष्र्ाकको उक्त कार्यक्रममा यी दुई संगीतकर्मीको जुगलबन्दीले दर्शकहरूलाई मन्त्रमुग्ध तुल्याएको थियो।
शिखा
गायिका शिखा भारतीको डेब्यू एल्बम 'शिखा' लाई संगीतकार शम्भूजित बासकोटा, गीतकार डा. भोला रिजाल, गायिका ज्ञानु राना, संगीतकार सुरेश अधिकारीसहितको समूहले सार्वजिनक गरेको छ। विमोचन समारोहमा एल्बमका सबै गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो।
प्रकाशित: फाल्गुन ३०, २०७०