गन्तव्य
बराह क्षेत्र
यसपालिको विशेष प्रसंग के भने बराह क्षेत्रको प्राचीन हरिद्वार चतराधाममा भारतको इलाहावाद (उत्तरप्रदेश), उज्जैन (मध्यप्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड) मा लाग्दै आएजस्तै १२ वर्षे मेला २०७० सालको चैत १७ देखि २०७१ सालको वैशाख १९ गतेसम्म लाग्दैछ। महिना दिनसम्म सञ्चालन हुने उक्त महाकुम्भ मेला भर्न करिब १ करोड स्वदेशी एवं विदेशी भक्तजन आउने अनुमान छ। उक्त मेलालाई सफलतापूर्वक सम्पन्न गर्न बराह क्षेत्रकै बालसन्त जगत्गुरु श्री विभूषित मोहनशरण देवाचार्यको संयोजकत्वमा ३००१ सदस्यीय मूल आयोजक समिति गठन भरिएको छ। २०५९ सालमा सम्पन्न भै त्यसपछिको १२ वर्षमा हुने गैरहेको १ महिने महाकुम्भ मेलामा सहभागी भै मोक्ष प्राप्ति गर्न जो कसैलाई अवसर छ। त्यसै पनि नेपालका चार धाम मुक्ति क्षेत्र, रुरु क्षेत्र, देवघाट र बराह क्षेत्रमध्ये एक प्रमुख धार्मिक पुण्यभूमिका रूपमा यो क्षेत्र सुविख्यात रहँदै आएको छ। यहाँ नदीकिनारको संगममा बसी केही समय ध्यान, जप/तप, दान एवं तर्पण मात्र गर्दा पनि अपूर्व शान्ति एवं वैभव प्राप्त हुने जनविश्वास छ।
बराह क्षेत्र पुग्न झुम्का, पकली वा धरानबाट निजी वा सार्वजनिक सवारी साधन पक्रन सकिन्छ। बराह क्षेत्रमा धर्मशालाहरू छन् भने धरान, इटहरी आदि अन्य स्थानमा सुविधायुक्त होटल/लजहरू उपलब्ध छन्। १ दिन बराह क्षेत्र घुम्ने योजनाका साथ काठमाडौंबाट ३ दिनको समय मिलाएर ५/७ हजारको जोहो गरी हिँडे सजिलै बराहक्षेत्रको दर्शन अवलोकन गरी पुण्य आर्जन गर्न सकिन्छ।
- एलपी शर्मा