स्कुले जीवनमा थुप्रै नाटकमा अभिनय गरेका काठमाडौंका सुवास कार्की ब्याटमिन्टनका पूर्वखेलाडी हुन्। किशोरावस्थामा कुशल ब्याटमिन्टन खेलाडीका रूपमा चर्चित कार्की राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागिसमेत छनौट भैसकेका थिए। विगतमा ब्याटमिन्टनलाई व्यायाकका रूपमा लिएका कार्की अहिले ब्याटमिन्टन संघको काठमाडौं जिल्ला सदस्यका रूपमा सक्रिय छन्। राष्ट्रिय स्तरका प्रतिस्पर्धामा उनको उपस्थिति अनिवार्य हुन्छ। लामो समयदेखि पर्यटन व्यवसायमा समेत आबद्ध कार्की यतिबेला कलाकारका रूपमा चर्चित छन्। स्वरूपराज आचार्यले गाएको एउटा गीत 'के के भयो' को म्युजिक भिडियोमा अभिनय गरिसकेका ५ फिट ८ इन्च अग्ला कार्कीलाई चिनाउने काम भने हास्यश्रृंखला 'भद्रगोल' ले गरेको छ। शंकर आचार्यद्वारा निर्देशित यो श्रृंखलामा कार्कीले 'बिलासे' को भूमिका निर्वाह गरेका छन्। सहरमा भन्दा गाउँमा 'बिलासे' ले लोकप्रियता पाइरहेको कार्कीले अनुभव गरेका छन्। 'तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन...' भन्ने बिलासेले श्रृंखलामा बोल्थे थेगो अहिले सहरका गल्ली तथा गाउँका चौतारामा बोल्न थालिएकोलाई कार्कीले आफ्नो सफलताका रूपमा हेरेका छन्। सडक नाटक तथा रंगमञ्चबाट अभिनयको अनुभव हासिल गरेका कार्कीले क्यामेराको सामना भने 'भद्रगोल' बाटै गरेका हुन्। श्रृंखलाको प्रसारण प्रारम्भ भएको करिब ५ महिना नबित्दै कार्कीले केही महोत्सवमा समेत आफ्नो प्रस्तुति दिने अवसर पाइसकेका छन्। श्रृंखलामा उनको भूमिकाले चलचित्रका निर्देशकहरू प्रभावित भएपछि यतिबेला उनी दोधारमा समेत छन्। शृंखलामा धनाढ्य गाउँलेको अल्छी छोराको भूमिकामा प्रस्तुत भएका कार्कीले म्युजिक भिडियोमा पनि काम पाइरहेका छन्। हप्तामा दुई दिन श्रृंखलालाई दिइरहेका कार्की चलचित्रलाई दिनुपर्ने लामो समयका कारण अभिनय गर्ने कि नगर्ने भन्ने कुराले दोधारमा परेका हुन्। हालै हेटौंडामा सम्पन्न महोत्सवमा हास्य प्रस्तुत दिएर फर्किएका कार्कीसँग कृष्ण भट्टराईको तीन प्रश्न ः
खेलाडीलाई अभिनय गर्न कसले सिकायो?
अभिनय र खेलकुद एउटै पाटाका दुई सिक्का हुन् भन्ने अनुभव अहिले आएर गर्दैछु। खेलमा पनि हामीले आफ्नो कला प्रदर्शन गर्ने हो, अभिनयमा पनि कला नै प्रस्तुत गर्ने हो।
कुन विधा बढी रमाइलो लाग्यो?
खेलकुदले पनि खेलाडीलाई सेलिब्रेटी बनाउँछ तर त्योभन्दा चाँडो अभिनयले सेलिब्रेटी बनाउने रहेछ। बाटोमा हिंड्दा दर्शकले आफ्नो अभिनय र भूमिकाका कारण जिस्क्याउन थालेपछि म यो विधालाई थप रमाएको छु।
आगामी योजना के-के छन्?
अभिनयको बानी परेको छ। हास्यश्रृंखलापछि एउटा पारिवारिक श्रृंखला निर्माण गरेर राम्रो भूमिका निवर्ाह गर्ने चाहना छ। त्यसबाहेक अभिनयका प्रायः सबै विधामा आफूलाई सक्रिय बनाउने योजना बनाएको छु।
प्रकाशित: फाल्गुन २३, २०७०