असुरक्षित बन्दै डेटिङ स्पट
यो त सामान्य घटना मात्र हो। कतिपय डेटिङ जोडी उच्छृङखल जमातबाट कुटिएका-पिटिएका पनि छन्। डेटिङमा गएका युवालाई कुटेर युवतीमाथि दुव्र्यवहार गर्ने घटनाहरू पनि सामान्य हुँदै गए छन्। यस विषयमा प्रहरीले भने कुनै तदारूकता देखाउन सकेको छैन। असुरक्षा महसुस गरेपछि धेरै युवायुवती एकान्त ठाउँमा जाने क्रममा समेत कमी आएको छ।
फेवातालको किनार, पामे, सराङकोट, लभ्लीहिल, डेभिड फल्स आदि स्थानमा केही वर्ष अघिसम्म डेटिङ जानेहरूको हूल देखिन्थ्यो। पामेमा कटेज चलाउँदै आएका भूपाल गुरुङले एकान्त स्थलमा पहिलेजस्तो डेटिङ आउने जोडी निकै घटेको बताए। यही भएर होला, धेरैले डेटिङको शैली परिवर्तन गरेका छन्। फेवातालको किनारमा बनाइएका फुटट्रयाकमा जोडीहरू फाटफुट्ट अहिले पनि देखिन्छन्। ताल अवलोकन गर्दै हिँड्नेहरूको निशानामा तिनै जोडीहरू पर्छन्।
प्रेम जोडीहरू घरपरिवार तथा आफन्तबाट जोगिन चाहन्छन्। उनीहरू आफ्नो प्रेम-रोमान्सलाई कसैले पनि नदेखुन भन्ने इच्छा राख्छन्। त्यही भएर एकान्त स्थल खोज्ने जोडीहरू यस्तो भीडभाडले दिक्क हुन्छन्। प्रेमदिवसका बेला आफ्ना प्रेमी-प्रेमिकासँग डेटिङ जाने रहर सबैलाई हुन्छ, तर एकान्त स्थलहरू सुरक्षित नहुँदा उनीहरू दिक्क पनि छन्।
विशन केसीलाई अहिले यही चिन्ता छ। उनकी प्रेमिका एकान्त ठाउँमा डेटिङ जान जिद्धी गरिरहेकी छिन्, तर विशन भने एकान्त स्थलमा जान चाहिरहेका छैनन। मलाई सुरक्षा अनुभव हुन छाडेको छ, उनले भने- 'बरु रेस्टुराँमा बसेर खानपिन गरेर रमाइलो गर्ने सोच बनाएको छु। मोडल नीरज पन्तले पनि एकान्त स्थल नै डेटिङ जोडीहरूका लागि उपयुक्त भए पनि असुरक्षित बन्दै गएको बताए। स्थानीय मात्र होइनन्, मुलुकका विभिन्न भागबाट पनि युगल जोडीहरू आफ्नो प्रेमलाई बलियो पार्न डेटिङ स्थल खोज्दै पोखरा आउँछन्, तर सुरक्षाको चिन्ता उनीहरूमा पनि छ। चियाएर बस्नेहरू उनीहरूको एकान्त भंग गर्ने अनेक प्रयत्न गर्छन्। कतिपय डेटिङ स्थलमा मारपिटसमेत हुने गरेको छ। त्यही भएर डेटिङ जोडीहरू बिच्किएका छन्। एकान्त र रमणीय ठाउँहरू डेटिङ स्पटका लागि असुरक्षित बन्दै गएपछि जोडीहरू होटल-रेस्टुराँ तथा चलचित्र हलतिर धाउन थालेका छन्।