लाइफ स्टाइल
केही न केही कीर्तिमान राख्नैपर्छ
आङतेम्बा शेर्पा, पर्यटन व्यवसायी
१३ वर्षकै उमेरमा स्व. बुवा नुरु जाङ्बुको पछि लागेर सगरमाथा चढ्न हिँड्दा आङतेम्बाको दायाँ हात भाँच्चियो। त्यो पीडाले एक साता बेहोस बनायो। पछि न्युजिल्यान्ड लगेर खुट्टाको मासु काटेर हातमा जोडेर उनको उपचार भयो। गणेश हिमाल आरोहण गर्न जाँदा उनको ढाड झन्डै खुस्किएको थियो। बायाँ हातको औंला भने गुम्यो। युरोपमा एक पटक प्याराग्लाइडिङ गर्दा भीरबाट खसेपछि टाउकामा गम्भीर चोट लाग्यो। 'ती सबै क्षण सम्भ“mदा अझैं पनि मन चिसो हुन्छ।' हालैको चिसो बिहानीमा उनले सुनाए, 'जिउमा कति चोटपटक लाग्यो त्यसको त गन्ती नै छैन।' विश्वका ६ वटै महादेश चहारेका आङतेम्बा रक क्लाइम्बिङका च्याम्पियन मानिन्छन्। प्याराग्लाइडिङ, ह्याङग्लाइडिङ, पर्वतारोहण र पौडीमा उनी पोख्त छन्। कैयौं विश्वव्यापी प्रतिस्पर्धामा अरूलाई उछिनेर उनले अग्रता कायम गरेका छन्। स्वीट्जरल्यान्डबाट हेलिकप्टर उडानसम्बन्धी तालिम लिएका आङतेम्बा हेलिकप्टर उडाउने क्षमता मात्र राख्दैनन्, मर्मत गर्ने क्षमता पनि राख्छन्।
यिनै विशिष्ट सीप, क्षमता र कलालेे आङतेम्बालाई बेग्लै उचाइमा पुर्याएको छ। विश्वमै ख्यातिप्राप्त घडी राडो, रोलेक्स, हुन्डाई गाडी, हेलिकप्टर, पानीजहाज तथा ब्रान्डेड पहिरनहरूमा उनले मोडलिङ गर्ने दुर्लभ अवसर प्राप्त गरेका छन्। अन्य कतिपय कम्पनीले उनलाई ब्रान्ड एम्बेसडर घोषित गरेका छन्। 'जीउडाल राम्रो भएर, प्रदर्शन गरेकै आधारमा मात्र अन्तर्राष्ट्रिय कम्पनीहरूले त्यस्तो अबसर दिँदैनन्।' उनले त्यसका पछाडि रहस्य खोतले, 'केही न केही कीर्तिमान कायम राखेको हुनुपर्छ।' सुन्दा अपत्यारिलो लाग्ला उनको औपचारिक शिक्षा ३ कक्षा पुगेपछि रोकिएको हो। साउथ अपि|mका र युरोपबाट माउन्टिनियरिङमा डिप्लोमा हासिल गरेका आङतेम्बाले नेपालको कला, संस्कृति, पर्यटन, धार्मिक तथा संस्कृति विषयमा पुस्तक लेखेका छन्। विदेशीसँगको सह-लेखनमा तयार पारेको 'स्टेप वाइ स्टेप इन् नेपाल' पुस्तक सन् १९९० मा जर्मनीबाट प्रकाशित भएपछि उनी चर्चित भए।
स्व- अध्ययनबाटै आफूभित्रको अद्भुत क्षमतालाई संसार सामु देखाउन उनलाई कुनै अबरोधले छेक्न सकेन। सोलुखुम्बुतिरै भेटिएका पर्यटकको पछि लागेर १५ वर्षको उमेरमा काठमाडौं पसेका आङतेम्बाले स्वीट्जरल्यान्डमा झन्डै २० वर्ष बिताए। हिमाल चढ्न चाहिने सामग्रीहरू पाइने पसल खोले। हेलिकप्टर पाइलटसम्बन्धी तालिम लिए। लाइसेन्स हात परेपछि तीन वर्ष हेलिकप्टर उडाए। आङतेम्बा कुनै काममा लागेपछि असफल हुन्छु भन्ने सोच्दैनन्। जे गर्छु भन्यो त्यो गरेरै छाड्छन्।' कफीको चुस्की लिँदै उनले सुनाए, काम नै देउता हो। बैंसमा विदेशी युवतीसँग प्रेममा परेका आङतेम्बाले विवाह भने स्वदेशकै निमा याङ्जीसँग गरे। प्रेमलाई हेर्ने संकुचित धारणा फेर्नुपर्ने उनी बताउँछन्। १९ वर्षीय छोरा जिक्मिटासी तथा २२ वर्षीया छोरी छिरिङ डोमाका बुबा आङतेम्बा उत्तिकै जाँगरिला छन्। शिक्षा एवं स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा उनको सक्रियता घटेको छैन। आङतेम्बा ३४ लाख रुपैयाँ पर्ने दाइहात्सु गाडीमा हुइँकिन्छन्। पाँचवटा ल्यापटपमध्ये एउटा गाडीमै, दुईवटा सिरानीमा र बाँकी दुई बैठक कोठामा छन्। जुन मन लाग्यो त्यही चलाउँछन्। आइफोन उनको सबैभन्दा नजिकको साथी हो। ट्वीटर, फेसबुक, वीच्याट्, आइक्लाउडको प्रयोग नगरेको दिन हुँदैन। कुनै नयाँ प्रविधि आयो कि त्यसमा खेल्न मन लाग्छ। प्रायः कोट र सुटमा हिँड्न रुचाउने आङतेम्बाको साथमा ज्याकेट कहिल्यै छुट्दैन। ट्रेकिङ एन्ड टुर्सका सञ्चालक आङतेम्बालाई शारीरिक तन्दुरुस्तीका लागि मर्निङवाकभन्दा हिमाल चढ्नु उत्तम लाग्छ।
आङतेम्बालाई घुम्न, पौडी खेल्न, प्याराग्लाइडिङ, ह्याङग्लाइडिङमा उड्न र पर्वतारोहणमा सोख छ। चुच्चेपाटीस्थित हिमचितुवा रिसोर्टका संस्थापक आङतेम्बा शाकाहारी हुन्। गाउँघरमा फलेका, विशेषगरी अग्र्यानिक परिकार उनको मेनुमा पर्छन्। बिहान ५ बजेतिर ब्युँझिने आङतेम्बा चिया र कफीपछि ब्रेकफास्ट लिन्छन्। दिनभरी के-के गर्ने भनेर योजना बनाउँछन्। अफिस, भेटघाट र अन्य कामहरू सकेर घर फकर्ंदा साँझ परिसक्छ।
खुसीको क्षण ः कैलाश पर्वत र मानसरोबर घुम्दा
दुःखको क्षण ः आमा-बुवा गुमाउँदा
सोखहरू ः घुम्ने, पौडी खेल्ने, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ
पुस्तक ः डटर अफ तिब्बत
लेखक ः बर्नहाड बन्जाफ
आरोहण गरेका हिमाल ः स्वदेशका २० वटा, विदेशमा त्योभन्दा बढी
ग्याजेट ः आइफोन, एप्पलको ल्यापटप
तौल ः ८५ किलोग्राम
चलचित्र ः त्यति हेर्दिनँ। कृत्रिम लाग्छ।
भाग्य कि कर्म? ः कर्म
घुमघाम ः ६ वटै महादेशका धेरैजसो देश
मन परेको देश ः स्वीजरल्यान्ड