तलेजु मन्दिर
काठमाडौं उपत्यकाका तीन सहरबाहेक उपत्यकाकै साँखु, फर्पिङ, कीर्तिपुर, ठिमी, चापागाउँ साथै नुवाकोट, पनौती र दोलखामा पनि तुलजा भवानीका मन्दिर छन्। भारतको हैदरावादको तुलजापुर तथा तिब्बतको भाखौरमा तुलजा भवानीको मन्दिर छ। नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कार्नाटवंशी राजा हरिहरसिंह देव हुन्। उनी सिम्रौनगढका राजा थिए।
मल्ल राजाहरूले तलेजु मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए। तीनतलाको हनुमानढोकाको तलेजु मन्दिर १ सय २ फिट अग्लो छ। सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरवारको मुलचोकमा ल्याएर राखिन्छ। नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा लगिन्छ र दिनभर पुजा अर्चना गरी सर्वसाधारणका लागि खुला गरिन्छ।